कोरोनाबाट बाँकेमा चौथो व्यक्तिको पनि मृत्यु

नेपालगन्ज : कोरोनाबाट बाँकेमा चौथो व्यक्तिको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ का ६२ वर्षका पुरुषको मृत्यु भएको छ । ३० साउनमा कोरोनाको लक्षण देखिएपछि ३२ साउनमा उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । सोमबार दिउँसो उनको स्वाब संकलन गरिएको थियो । सोमबार राति ११ः४० बजे अस्पतालमा उपचार गर्दा गर्दा उनको मृत्यु भएको कोरोना फोकल पर्सन श्रेष्ठले पुष्टि गरे । उनलाई दुबै फोक्सोमा निमोनिया भएको थियो ।
यसअघि नरैनापुर गाउँपालिका ५ मा २५ वर्षका युवा, बैजनाथ गाउँपालिका ६ कि ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका २ की ७० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भइसकेको छ । बाँके जिल्लामा ७ सय ३८ जना कूल कोरोना संक्रमित रहेकोमा मंगलबार डिस्चार्ज हुने १३ जनासहित चार सय ६८ जना निको भइसकेका छन् । आइसोलेसनमा उपचार गराइरहेको संख्या भने दुई सय ६३ छ ।