डाक्टर, इन्जिनियर, प्रहरी र कैदीले जिते कोरोना

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालकी बालरोग विशेषज्ञ डा.रोमा बोरालाई भेरी अस्पतालको आइसोलेसनबाट विदाइ गरिँदै । फोटो : सदरलाइन डटकमबाट

नेपालगन्ज : बाँके जिल्लामा भदौ महिना लागेसँगै नयाँ संक्रमित थपिनेभन्दा कोरोना निको हुने बढिरहेका छन् ।
सोमबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालकी बालरोग विशेषज्ञ डा.रोमा बोरा डिस्चार्ज भइन् । भेरी अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भइ सात दिन होम आइसोलेसनमा रहेकी डा. रोमाले मेरो खुसी डटकमसँगको मोबाइल सम्पर्कमा भनिन्, ‘मलाई अहिले सन्चो भएको छ । आइसोलेसनमा बस्दा मेरो स्वास्थ्यप्रति चासो राख्दै मनोबल बढाएर सहयोग गर्ने सबैप्रति आभारी छु ।’

सोमबार नै नेपालगन्ज उपमहानगरका प्रवक्ता प्रमोद रिजाल, इन्जिनियरसहितका कर्मचारीहरु गरी विभिन्न आइसोलेसनबाट ११ जना डिस्चार्ज भएका थिए । मंगलबार भने बाँके कारागारका सात जना बन्दी र वडा प्रहरी कार्यालय बाँकेका ६ जना प्रहरी गरी १३ जना डिस्चार्ज भएका छन् । उनीहरुलाई खजुरास्थित कृषि तालिम केन्द्रको आइसोलेसनमा राखिएको थियो । योसँगै बाँकेमा आइसोलेसनबाट डिस्चार्ज हुनेको संख्या चार सय ६८ पुगेको छ ।