नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीसहित बाँकेमा ९७ सुरक्षाकर्मीलाई कोरोना

नेपालगन्ज : बाँके जिल्लामा तीन महिनाको अवधिमा ९७ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार कोरोना संक्रमण हुनेमा सबै सुरक्षा निकायमा अधिकतम् पद अधिकृत स्तरसम्मका छन् । सबैभन्दा बढी कोरोना संक्रमण ५१ जना नेपाल प्रहरीलाई भएको छ । त्यसमा पनि वडा प्रहरी कार्यालय नेपालगन्जकै धेरै छन् ।
१० जेठमा बाँकेको नरैनापुर गाउँपालिकाको कालाफाँटा प्रहरी चौकीका २३ वर्षका एक प्रहरी जवानलाई जिल्लामै पहिलो पटक कोरोना संक्रमण भएको थियो । मंगलबारसम्म ५१ जना नेपाल प्रहरी, ३० नेपाली सेना, १५ सशस्त्र प्रहरी बल र एक जना नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रहरी हुन् । नगर प्रहरी इन्चार्ज इन्सपेक्टर सूर्य बोगटीलाई कोरोना संक्रमण भएको हो । नेपाली सेनामा मेजर स्तरका चिकित्सकलाई, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका इन्सपेक्टरलाई कोरोना भएको छ ।