कोरोना खर्चको ७५% रकम राहात वितरणमा

पत्रकार सम्मेलनमा कोरोनाको खर्च सार्वजनिक गर्दै नेपालगन्जकी उपप्रमुख उमा थापा मगर । फोटो सौजन्य : गोविन्द शर्मा

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको कोरोना भाइरस (कोभिड–१९) मा खर्च भएको कूल ४ करोड रुपैयाँमध्ये ७५ प्रतिशत रकम राहात वितरणमा सकिएको छ ।
उपमहानगरपालिकाले शुक्रबार कार्यालय परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रमुख उमा थापा मगरले कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम र राहत वितरणमा ४ करोड ७ लाख ४७ हजार सात सय ७० रुपैयाँको खर्च विवरण सार्वजनिक गरेकी थिइन् । उपमहानगरपालिकाको कार्यालय र २३ वटा वडाबाट १८ हजार ८ सय ८७ जनालाई राहात वितरण गर्दा ३ करोड ६५ लाख ६ सय ६२ रुपैयाँ खर्च भएको छ । जुन कूल कोरोना बजेटको ७५.२२ प्रतिशत हो । २३ वटा वडाले विपन्न, ज्याला मजदुरी गर्ने १४ हजार पाँच सय ९१ जनालाई राहात वितरण गर्दा २ करोड ५५ लाख ३४ हजार २ सय ५० रुपैयाँ खर्च गरेका छन् । त्यसैगरी उपमहानगरपालिकाको कार्यालयले भाडामा बसेका चार हजार २ सय ९६ जनालाई ५१ लाख १६ हजार ४ सय १२ रुपैयाँको राहात वितरण गरेको छ ।
उपमहानगरको कोरोना शीर्षकको अन्य २५ प्रतिशत खर्चमध्ये क्वारेन्टाइन तथा आइसोलेसन सञ्चालन तथा व्यवस्थापनमा ५६ लाख ७७ हजार एक सय ६२ रुपैयाँ र ३० लाख ९३ हजार ६ सय ७२ रुपैयाँको स्वास्थ्य सामग्री खरिद गरेको उपप्रमुख थापामगरले जानकारी दिइन् ।
प्रकोप व्यवस्थापन कोषमा एक करोड ७१ लाख ७८ हजार एक सय ४६ रुपैयाँ आम्दानी भएकोमा अहिले पनि कोषमा १९ लाख ६४ हजार ६ सय २५ रुपैयाँ बाँकी रहेको उपमहानगरपालिकाले जनाएको छ ।

पत्रकार सम्मेलनमा नगर प्रमुख डा.धवल शम्शेर राणाले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको एक करोड ५० लाख रुपैयाँ बाँके क्षेत्र नं. २ का सांसद तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले उपमहानगरको कोरोना कोषमा रकम जम्मा गर्नुपर्नेमा समन्वय नगरी र नियम विपरित योजना नै छनोट गरेर दिएका कारण रकम फ्रिज भएको दाबी गरे ।