सालालाई अपहरण गरी ससुरासँग १० लाख रुपैयाँ फिरौती माग्ने व्यक्ति पक्राउ

फोटो सौजन्य : जिल्ला प्रहरी कार्यालय बाँके

नेपालगन्ज :  जिल्ला प्रहरी कार्यालय बाँके एक जना बालक अपहरण परेको तेस्रो दिनमा सकुशल उद्दार गर्न सफल भएको छ ।
बाँकेको खजुरा गाउँपालिका-५ रजनवा गाउँका १३ वर्षका बालक इसहाक जाकिर भन्ने इन्तजार खाँलाई नेपालगन्ज उपमहानगरपालिका – १६ जयसपुरका २७ वर्षका उनका सहोदर भिनाजु कल्लु भन्ने कलिम खाँले ९ भदौमा अपहरण गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाले शुक्रबार कार्यालय परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुुसार अभियुक्त खाँले अपहरणको २ दिनसम्म जयसपुरस्थित आफ्नै घरमा बन्धक बनाएर ससुरासँग १० लाख रुपैयाँ फिरौती मागेका थिए । ‘ससुराले जग्गा किन्न ४ लाख ८५ हजार रुपैयाँ जम्मा पारेको थाहा पाएपछि बालकको अपहरण गरेको देखिन्छ’, एसपी रानाले भने ।
९ भदौमा खजुरा–५ को रजनवा गाउँमा मोहर्रमको रमाइलो हेर्न गएको बेला खाँले बालकलाई अपहरण गरेका थिए । अपहरणको तेस्रो दिन प्रहरीले ११ भदौमा जानकी गाउँपालिका–५ बुढिया गाउँमा पीडित बालकको फुपुको घरबट बालकलाई उद्दार गरेको थियो भने खजुराको धनौलीबाट अभियुक्तलाई पक्राउ गरेको हो ।