‘कविगोष्ठी जस्तो बन्यो’ बाँकेमा स्थानीय तहको समीक्षा बैठक

समीक्षा बैठकका सहभागीहरु । फोटो : आइपी खरेलको फेसबुकबाट

नेपालगन्ज :  ‘आउने, आफ्नो रचना वाचन गर्ने, अरुको कविता सुन्ने धैर्यता नगरेर जाने’ कवि गोष्ठीमा कविबारे यस्तो किस्सा सुनिन्छ । आइतबार नेपालगन्जमा बाँकेका स्थानीय सरकारका प्रतिनिधिले कविलाई नै माथ दिने प्रत्यक्ष व्यवहार र कार्य गरेर सबैलाई चकित पारे ।
जिल्ला समन्वय समिति बाँकेको सभाकक्षमा बिहान (११ बजे डाकिएको तर सुरु ११ः४० मा भएको) जिसस एवं जिल्लाका ८ वटै स्थानीय तहको वार्षिक समीक्षा कार्यक्रम थियो । अपरान्ह ५ः१५ मा कार्यक्रम सकियो । ८ वटै स्थानीय तहको प्रस्तुती भयो । आफ्नो सुनाएर अरुको सुन्ने धैर्यता स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीमा भएन ।
सुरुमा नेपालगन्ज उपमहानगरपालिकाको प्रस्तुती थियो । त्यसपछि क्रमशः खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका र अन्तिममा डुडुवा गाउँपालिकाका प्रतिनिधिले आर्थिक वर्ष २०७६/०७७ को प्रगति विवरण प्रस्तुत गरे ।

५ बजेतिर डुडुवाको प्रस्तुती हुँदा प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज अथक, कार्यक्रमका सभापति तथा जिसस बाँकेका प्रमुख अजय श्रीवास्तव, राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतलगायत मुस्किलले २५ जना थिए । जबकी कार्यक्रममा जिससका कर्मचारीसमेत जोड्दा ९० जना सहभागी भएका थिए । कार्यक्रमको सुरुमा हल भरिभराउ नै थियो । अधिकांश स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी कार्यक्रममा आएका थिए । उनीहरु आफ्नो प्रस्तुती पूरा गर्दै गए । अन्तिममा संसद भवन जस्तै हलमा खाली कुर्सी मात्रै देखियो ।

सुरुदेखि अन्तिमसम्म बसेका सांसद अथकले गाउँगाउँमा सिंहदरबार पुगेको कुरा व्यवहारमै उर्तान स्थानीय सरकारसँग आग्रह गरे । दर्शकदीर्घामा थोरै व्यक्ति थिए । उनको भाषण पनि निकै छोटो मिठो भयो । जसका लागि उनले सुझाव दिएका थिए, अधिकांश कार्यक्रम हिँडिसकेका थिए ।

कार्यक्रमको सभापनमा जिसस प्रमुख श्रीवास्तवले त भाषणमै ‘स्थानीय तहले आफ्नो प्रस्तुती सकेर’ जाने प्रवृत्ति नराम्रो भएको भनेर टिप्पणी नै गरे । समीक्षा बैठक त स्थानीय तहका लागि एक अर्काका राम्रा अभ्यास सिक्ने थलो हो । आफ्ना गल्ती कमजोरी सच्चाउन पाउने अवसर हो । सांसदका लागि विकासको अवस्था बुझ्ने ठाउँ हो । यही समीक्षा बैठकका आधारमा जिल्ला समन्वय समितिले पनि प्रतिवेदन तयार गरी प्रदेश र संघीय सरकारलाई प्रतिवेदन बुझाउँछ ।