गाउँपालिका कार्यालयभित्रै प्राथमिक स्वास्थ्य उपचार कक्ष

अगैया (बाँके) :  राप्ती सोनारी गाउँपालिकाको अगैयास्थित कार्यालय परिसरमा प्राथमिक स्वास्थ्य उपचार कक्ष स्थापना गरिएको छ ।
सोमबार अपरान्हदेखि सञ्चालनमा आएको स्वास्थ्य केन्द्रको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले शुभारम्भ गरेका हुन् । स्वास्थ्यकर्मीले अध्यक्ष थारु र उपाध्यक्ष धनीकुमारी खत्रीको स्वास्थ्य जाँच गरेका थिए । अध्यक्ष थारुले भने, ‘अब स्वास्थ्य संस्था टाढा भएकाले सेवाबाट बञ्चित भएका यस क्षेत्रका सर्वसाधारणले गाउँपालिकाभित्रैबाट स्वास्थ्य सेवा पाउनेछन् ।’ गाउँपालिकाले केन्द्रका लागि २ जना स्वास्थ्यकर्मी नियमित रुपमा बस्ने व्यवस्था मिलाएको छ । गाउँपालिकामा स्वास्थ्य केन्द्र स्थापना भएपछि अगैया आसपासका क्षेत्रका सर्वसाधारणले स्वास्थ्य संस्थामा पाउने सेवा पाउने छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले नजिकै स्वास्थ्य चौकीलगायतका स्वास्थ्य संस्था नभएकाले गाउँपालिकाभित्रै सेवा सुरु गरिएको बताए ।