बाँके र बर्दियामा थपिए ३३ संक्रमित
नेपालगन्ज: बाँके र बर्दियामा मंगलबार ३३ जना कोरोना संक्रमित थपिएका छन । भेरी अस्पताल नेपालगन्जका अनुसार बाँकेमा १४ जना र बर्दियामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशवावु श्रेष्ठका अनुसार मंगलवार बाँकेमा थपिएका मध्य एकजना नरैनापुर गाउँपालिकाका हुन भने अर्का एकजना उच्च अदालतका कर्मचारी हुन । बाँकी सबै नेपालगन्जका हुन । यो संगै बाँकेमा जम्मा संक्रमितको संख्या १ हजार २ सय ७१ जना पुगेको छ । जसमध्य ८ सय ३८ जना कोरोना जितेर घर फर्केका छन । हालसम्म बाँकेमा ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै बर्दियामा थपिएका १९ जना मध्य अधिकाँस चौधरी ग्रुपको चाउचाउ कारखानामा कामगर्ने मजदुर हुन । जसमध्य ११ जना बाँसगढी, बढैयातालका २, बारबर्दियाका १ गरी १४ जना बर्दियाका हुन भने बाँकी सिराहा, सुनसरी, मोरङ्ग, नवलपरासी घर भएका व्यक्ति हुन । बर्दियामा हालसम्म ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । जसमध्य ३ सय २५ जना कोरोना जितेर घर फर्केका छन । हालसम्म जिल्लामा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।