५१ सैनिक, ८ टेलिकम कर्मचारीसहित ७७ डिस्चार्ज

नेपालगन्ज : बाँके जिल्लामा बुधबार एकैदिन ७७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार डिस्चार्ज हुनेमा सबैभन्दा बढी नेपाली सेना ५१ जना रहेका छन् । उनीहरु सबै कोहलपुरको कौशिलानगरमा रहेको नेपाली सेनाको पश्चिम पृतना शिक्षालयका हुन् ।
त्यसैगरी नेपाल टेलिकमका ८ जना कर्मचारी पनि डिस्चार्ज भएका छन् । यसअघि नै डिस्चार्ज भइसकेका भेरी अस्पताल नेपालगन्जका डाक्टरहरुको नाम पनि बुधबारको सूचीमा छ । कोरोना संक्रमितले १४ दिन अनिवार्य रुपमा आइसोलेसनमा बस्ने व्यवस्था भए पनि कोरोना रिपोर्ट नेगेटिभ आएमा डाक्टरहरुलाई १० दिनमै डिस्चार्ज गर्ने व्यवस्था रहेको कोरोना फोकल पर्सन श्रेष्ठले प्रष्ट पारे । बाँके जिल्लामा एक हजार दई सय ७२ जनामा कोरोना संक्रमण भएकोमा निको भएर डिस्चार्ज हुनेको संख्या ९ सय १५ पुगेको छ । आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या ३ सय ४९ छ । जिल्लामा कोरोनाबाट अहिलेसम्म ८ जनाको ज्यान गइसकेको छ ।