उच्च अदालत नेपालगन्जका २ न्यायाधीशका पीएसओलाई कोरोना संक्रमण

नेपालगन्ज : उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका २ जना न्यायाधीशका पीएसओ (सुरक्षाकर्मी) लाई कोरोना संक्रमण भएको छ ।
अदालतका शाखा अधिकृत तीर्थ आचार्यका अनुसार बुधबार अदालतका ८ जनामा कोरोना संक्रमण भएकोमा ५ जना सुरक्षाकर्मी र ३ जना अदालतका कर्मचारी हुन् । उनले भने, ‘२ जना प्रहरी श्रीमान्को पीएसओ हुन् । २ जना सुब्बा र एक जना कार्यालय सहयोगीलाई पनि कोरोना संक्रमण भएको छ ।’ भेरी अस्पताल नेपालगन्जले सार्वजनिक गरेको सूचीमा उच्च अदालतका १२ जना लेखिएको भए पनि ८ जना मात्र अदालतको रहेको र संक्रमण पुष्टि भएका अन्य व्यक्तिको पनि अदालत परिसरमै स्वाब संकलन गरिएको आचार्यले प्रष्ट पारे । यसअघि मंगलबार अदालतको प्रशासनको उच्च तहको कर्मचारीलाई कोरोना पुष्टि भएको थियो ।
उच्च अदालत नेपालगन्जमा पाँच जना न्यायाधीश रहेकोमा तीन जनाको मात्र स्वाब संकलन गरिएको थियो । तीनै जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।