नदी कटान रोक्न बगरमा वृक्षारोपणमा

मानबहादुर ठकुल्ला । टीकापुर
बर्सेनी नदी कटान र पटानको समस्या झेल्दै आएका कैलालीको टीकापुर नगरपालिकाको मोहना नदी तटीय क्षेत्रका स्थानीयले स्थानीय श्रम, सीप र स्रोत साधनमा आधारित बाढीबाट बच्ने दीगो समाधानमा जुटेका छन् ।
टीकापुर–७ कालाकु्डा क्षेत्रस्थित मोहना नदी कटानले बगरमा परिणत भएको जमिन संरक्षणमा स्थानीय जुटेका छन् । वर्षौदेखि नदी कटान र पटान भएर खेती गर्न नसकिएको जमिनलाई स्थानीयले सामुदायिक वनका रुपमा विकास गर्न शुक्रबार वृक्षारोपण गरिएको हो। प्रस्तावित कालाकुण्डा सामुदायिक वनमा उपभोक्ताले ४ हजार ५ सय विरुवा रापेका हुन् । विरुवा रानी जमरा कुलरिया सिँचाइ आयोजना टीकापुरले उपलब्ध गराएको हो ।
प्रस्तावित सामुदायिक वनका अध्यक्ष भिउराज साउँदले आयोजनासँग विरुवा माग गरेर वृक्षारोपण गरेको बताउनुभयो । ‘‘हामीले जमीन संरक्षणका लागि सामुदायिक वनका रुपमा विकास गर्ने योजना बनायौँ’, साउदले भने, ‘नदी कटानले हैरान भएका स्थानीय वृक्षारोपण भए नदी कटान न्यूनिकरण हुने आशामा छन् ।’’

स्थानीयले वन बनाउन थालेपछि त्यहाँ सिसम, खयर, बेत, युके लिप्टस, ताकी, कोइरालो, बकाइनो, सिरिस र अमालाका विरुवा रोपिएका हुन् । केही वर्ष अघिसम्म भारतले आफ्नो दाबी गर्दै आएको त्यहाँ गत वर्ष नेपाल र भारतको संयुक्त सर्वे टोलीले सीमा स्तम्भ मर्मत गरेपछि नेपालकै जमिन भएको टुङ्गो लागेको हो ।
जमिन सधैँ बाझो रहने भएकाले स्थानीयस्तरमा छलफल गरी सामुदायिक वनका रुपमा विकास गर्न थालेको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताए । ढुङ्गानाले भन्छन्, ‘अब वन बनाएर नदी कटान नियन्त्रण, वन तथा वन्यजन्तु संरक्षण गर्नुका साथै डल्फिन क्षेत्रको विकास गर्नेछौँ ।’
स्थानीयस्तरबाटै मोहना नदीको किनारमा रहेको जमीन संरक्षण गर्ने योजनाले नदी कटान नियन्त्रणमा सघाउ पुग्ने स्थानीयको अपेक्षा छ । साथै सामुदायिक रुपमा प्रयोग विहीन जमिन प्रयोग गरेमा स्थानीयलाई आवश्यक घाँस दाउरा जुटाउनसमेत सहयोग पुग्ने मदन साउँद बताउँछन् ।