६० लाखमा बार्गेनिङ गर्दैगर्दा रेडपाण्डाको छालासहित ५ जना पक्राउ

नेपालगन्ज : बाँकेको बैजनाथ गाँउपालिका–१ को डेनियाल रेष्टुरेण्टबाट रेड पाण्डाको छालासहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाले आइतबार पत्रकार सम्मेलन गरी नग्रा, दाँतसहितको रेड पाण्डाको एक थान छालासहित पक्राउ परेका जाजरकोट कुसे गाउँपालिका ६ का वर्ष ३२ वर्षका कृष्ण वली, सोही गाउँपालिकाको वडा नं. ९ का २८ वर्षका इन्द्रबहादुर नेपाली, सुर्खेतको भेरीगंगा नगरपालिका ५ का वर्ष ३० का जय बहादुर कामी, २५ वर्षका गणेश विक र सोही भेरीगंगा–१२ का ३६ वर्षका देवबहादुर बाँठालाई सार्वजनिक गरेका हुन् ।
रानाले भने, ‘सुरुमा छालाको मोल ६० लाख भनेका रहेछन् । घटाउँदै जाँदा ४० लाख रुपैयाँमा किनबेच हुने तयारी भएको बेला आइतबार बिहान हामी पक्राउ गर्न सफल भयौं ।’ डोल्पाबाट जाजरकोट, सुर्खेत हुँदै बाँकेमा बिक्री गर्न ल्याइएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिम दुर्लभ वन्यजन्तु बन्यजन्तुको अंग ओसारपसार र बिक्रीमा १० लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।