पत्रकार भण्डारीसहित बाँकेमा ४२ ले कोरोना जिते

नेपालगन्ज : बाँके जिल्लामा मंगलबार ४२ जना डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार डिस्चार्ज हुनेमा २४ पुरुष र १८ महिला रहेका छन् । कोरोना संक्रमणपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेका सदभाव दैनिकका सम्पादक दामोदर भण्डारी १५औं दिनमा डिस्चार्ज भएका हुन् ।
अन्य डिस्चार्ज हुने व्यक्तिहरुमा एक जना डाक्टर, ९ प्रहरी, भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी, एनआइसी एसिया बैंक, नबिल बैंक र माछापुच्छ्रे बैंकका कर्मचारी रहेका छन । बाँकेमा एक हजार ४ सय ६९ कूल संक्रमित रहेकोमा डिस्चार्ज हुने एक हजार ७८ भएका छन् । ३ सय ८६ जना आइसोलेसनमा छन् । कोरोनाबाट अहिलेसम्म ८ जनाको ज्यान गएको छ ।