खजुरा र जानकीका २४ किशोरीलाई उद्घोषण तालिम
नेपालगन्ज : खजुरा र जानकीका किशोरीहरुलाई उद्घोषण तालिम दिइएको छ ।
प्लान नेपालको सहयोगमा स्याक नेपाल बाँकेले सञ्चालन गरेको बाल विवाह रोकथाम परियोजना अन्तर्गत किशोरीहरुको क्षमता अभिवृद्धिका लागि खजुरा गाउँपालिकाको लगनशील किशोरी क्लब र जानकी गाउँपालिकाको सिर्जनशील किशोरी क्लबका पदाधिकारी र सदस्य २४ जनालाई छुट्टाछुट्टै रुपमा दुई दिने उद्घोषण तालिम दिएको हो ।
तालिममा उद्घोषणको सैद्धान्तिक र व्यवहारिक अभ्यास गराइएको थियो । तालिमको प्रशिक्षकमा अन्नपूर्ण पोस्ट् दैनिकका उप–सम्पादक शंकरप्रसाद खनाल र नेपाल टेलिभिजनका संवाददाता रुद्र सुवेदीले सहजीकरण गरेका थिए । कार्यक्रममा स्याकका सहजकर्ता पुष्पा सुनार र अर्मिला रोकायले तालिमको समापनको अवसरमा सिकेको सीपलाई व्यवहारमा उर्तान किशोरीहरुसँग आग्रह गरेका थिए ।
साइबर सुरक्षाबारे तालिम
त्यसैगरी स्याकले जानकी गाउँपालिकाका १२ जना किशोरीहरुलाई दुई दिने साइबर कानुन तथा सामाजिक सञ्जालमार्फत लेख प्रकाशन प्राविधिक तालिम पनि दिएको छ । सञ्चारकर्मी तथा नेपाल युवा परिषद् प्रदेश ५ का संयोजकसोम गुरुङले तालिम दिएका थिए । तालिममा सामाजिक सञ्जालको प्रयोग, यसका फाइदा, बेफाइदा, सामाजिक सञ्जालमा स्टाटस लेख्दा अपनाउनु पर्ने सुरक्षाको विधिहरु सिकाइएको थियो । जिल्लाका ८ वटै स्थानीय तहसँग सहकार्यमा स्याकले बाल विवाह रोकथाम परियोजना सञ्चालन गरेको छ । हरेक स्थानीय तहमा एक एक वटा किशोरी क्लब र जिल्लामा जिल्ला स्तरीय किशोरी क्लब सञ्जाल पनि रहेको छ ।