बीटीएसका नेपाली फ्यानले गरे ४५ हजार सहयोग

मञ्जु थापा मगर । खजुरा (बाँके)
विश्व प्रसिद्ध कोरियन व्याण्ड बीटीएसका नेपाली फ्यानहरुले सामुदायिक कुकुरको उद्दार गर्ने कार्यका लागि सहयोग गरेका छन् ।
बीटीएसका लिडर किम नामजून र बीटीएसको कान्छो सदस्य जन जङ्कुकको जन्मदिनको अवसरमा बीटीएसका नेपाली फ्यानहरुले सामुदायिक कुकुरको उद्दार गर्ने ललितपुरको श्री एनिमल रेस्क्यु नेपाल नामक नामक संस्थालाई ४५ हजार तीन सय ८४ रुपैयाँ सहयोग गरेको बाङ्गतान नेपाल (बीटीएस नेपाल) ले जनाएको छ ।

लकडाउनको कारण अनलाइनमार्फत १३ दिनमा सहयोग संकलन गरिएको हो । बीटीएसका फ्यानले आगामी दिनमा पनि सहयोग संकलन गर्ने जनाएका छन् । एनिमल रेस्क्यु नेपालकी सञ्चालक सिर्जना शाही ठकुरी शहर बजारका गल्ली गल्लीका घाइते कुकुर खोज्दै हिँड्ने गर्छिन् । उपत्यकालगायत अन्य स्थानबाट दुर्घटनामा परेका कुकुरको उपचारसमेत आफ्नै लगानीमा गर्ने गर्छिन । ललितपुरको धापाखेलस्थित फार्म उनीसँग अहिले तीन सय वटाभन्दा बढी कुकुर छन् ।