द आर्ट अफ लिभिङको २ दिने ‘ह्याप्पिनेस रिकनेक्ट प्रोग्राम’ सम्पन्न

नेपालगन्ज : द आर्ट अफ लिभिङले स्वयं सेवकका लागि २ दिने आनन्द उत्सव शिविर आयोजना गरेको छ ।
द आर्ट अफ लिभिङ नेपाल, नेपालगन्जले अनलाइनमार्फत शुक्रबार र शनिबार ‘ह्याप्पिनेस रिकनेक्ट प्रोग्राम’ आयोजना गरेको हो ।
द आर्ट अफ लिभिङका नेपाल कन्ट्री को–अर्डिनेटर सन्तोष केडिया प्रमुख प्रशिक्षक रहेको कार्यक्रममा योग, प्राणायाम र ध्यान गराइएको थियो । प्रशिक्षक केडियाले प्राणायाम र सुदर्शन क्रिया गराउँदै यसले शारीरिक, मानसिक रुपमा गर्ने फाइदाका विषयमा जानकारी गराएकी थिइन् ।

स्वयंसेवकले यस अघि नै ह्याप्पिनेस प्रोग्राममा सिकेका ५ वटा ज्ञानका सुत्रलाई प्रशिक्षक केडियाले निकै सुक्ष्म र व्यवहारिक रुपमा चर्चा गरेकी थिइन् । ‘गुरुजीको एउटा मात्र सुत्रलाई अन्तरआत्मादेखि लागू गर्ने हो भने गुरुशक्तिबाट आफसे आफ उर्जा प्राप्त हुन्छ’, उनले अनुभव सुनाइन्, ‘ज–जसले आर्ट अफ लिभिङको कोर्ष गरेका छन्, उनीहरु जीवन जिउने कला सिकेर शारीरिक र मानसिक रुपमा स्वस्थ छन् । आफूले पाएको खुसी अरुलाई बाँड्दा पनि साथीको खुसीको उर्जाले पनि काम गर्छ । त्यसैले गुरुको ज्ञान बाँड्ने सेवाको काममा पनि लागौं ।’
उनले प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका गाउँगाउँ र सहरका टोल टोलमा यो ज्ञान विस्तार गर्न स्वयंहरुलाई जिम्मेवारी लिन आग्रह गरेकी थिइन् । कार्यक्रममा अर्की प्रशिक्षक लक्ष्मीदेवी श्रेष्ठले योगाभ्यास र सुक्ष्म व्यायामहरु गराएकी थिइन् ।
कार्यक्रममा सहभागी नेपालगन्ज उपमहानगरपालिकाका उप–प्रमुख उमा थापा मगरले ह्याप्पिनेस प्रोग्रामपछि नियमित रुपमा साधना गर्दा शारीरिक र मानसिक रुपमा आफूलाई फाइदा मिलेको प्रतिक्रिया दिएकी थिइन् । उनले भनिन्, ‘म अहिले दैनिक रुपमा साधना गरिरहेकी छु । यसलाई लामो समयसम्म जारी राख्न चाहन्छु । स्वस्थ शरीर र शान्त मनका लागि योग ध्यान र प्राणायामहरु सबै व्यक्तिका लागि फाइदाजनक छ । यसलाई सबैले आत्मसात गरौं ।’

कार्यक्रममा द आर्ट अफ लिभिङ नेपाल, नेपालगन्जका संयोजक संजय थापाले स्वयंसेवकहरुका लागि हरेक दिन बिहान ६ः३० बजेदेखि ७ः३० बजेसम्म अनलाइनमार्फत साधना गर्न थालिएको बताए । ‘कोरोना कहरको बेलामा शारीरिक र मनसिक रुपमा स्वस्थ हुन, रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्न योग, ध्यान र प्राणायाम गर्न जरुरी छ । ह्याप्पिनेस कोर्ष गरिसकेकाहरुका लागि नियमित साधना भइरहेको छ । सबैलाई सहभागी हुन आग्रह गर्छु’, उनले आग्रह गरे, ‘हामी हरेक साँझ गुरुजीको भिडियो मार्फत जीवन र अध्यात्म सम्बन्धी ज्ञानको सेसन सुरु गर्न गइरहेका छौं । यसमा कोर्ष नगरेका व्यक्ति पनि सहभागी हुनसक्छन् । कोर्ष नगरेका व्यक्तिका लागि पनि चाँडै नयाँ कोर्ष आयोजना गर्नेछौं ।’
आर्ट अफ लिभिङको आनन्द उत्सव (ह्याप्पिनेस प्रोग्राम) मा सहभागी भइ सुदर्शन क्रिया सिकेका व्यक्तिलाई मात्र लक्षित गरी सञ्चालन गरिएको शिविरमा प्रदेश ५ का बाँके बर्दिया, कर्णाली प्रदेशका सुर्खेत, सुदूरपश्चिम प्रदेशका कैलालीलगायतका विभिन्न जिल्लाका एक सय जनाको सहभागिता रहेको थियो ।
अध्यात्मिक गुरु श्री श्री रविशंकरले स्थापना गरेको द आर्ट अफ लिभिङका विश्वका १ सय ५७ भन्दा बढी देशमा शाखा छन् । तनाव रहित मन, रोग मुक्त शरीर र हिंसारहित समाज भन्ने मूल नाराका साथ विश्वभर योग, ध्यान, प्राणायाम, सेवा र शिक्षाका क्षेत्रमा यो संस्था परिचित छ । स्वयंसेवकमा आधारित विश्वका ठूला संस्थामध्ये आर्ट अफ लिभिङ पनि एक हो ।