नेपालगन्ज भन्सार कार्यालयद्वारा गत वर्षभन्दा १६४ प्रतिशत बढी राजस्व संकलन

नेपालगन्ज : नेपालगन्ज भन्सार कार्यालयले गत वर्षको साउन, भदौ र असोज महिनाभन्दा १६४ प्रतिशतले बढी राजस्व संकलन गरेको छ ।
भन्सार प्रमुख शान्तिराम निरौलाका अनुसार आर्थिक वर्ष ०७५/७६ का यी तीन महिनामा २ अर्ब ८५ करोड राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षको यही अवधिमा ४ अर्ब ६५ करोड राजस्व संकलन भएको छ । ‘गत वर्षको यही ३ महिनाको अवधिसँग तुलना गर्दा १६४ प्रतिशत अर्थात १ अर्ब १५ करोड बढी राजस्व संकलन गर्न सफल भएका छौं’, भन्सार प्रमुख निरौलाले भने, ‘कार्तिक महिनामा एक अर्ब ३२ करोडको लक्ष्य रहेकोमा यस अघि नै एक अर्ब १५ करोड बढी संकलन भइसकेको छ । यो वर्ष भन्सार लक्ष्य सजिलै पुग्छ ।’