बाँकेमा कोरोनाबाट मृत्यु हुनेमा ८६ प्रतिशत सहरका, मृतकमध्ये नेपालगन्जका ७५ प्रतिशत

जिल्लाका कूल संक्रमित २८०३ मध्ये नेपालगन्जमा १३१२, कोहलपुरमा ४१० र संस्थागत ४३९ गरी २१६१ संक्रमित अर्थात ७७ प्रतिशत सहरका मात्र

नेपालगन्ज : बाँकेमा कोरोनाबाट मृत्यु हुनेमध्ये ८६ प्रतिशत सहरी क्षेत्रका मात्र छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार कोरोनाबाट मृत्यु भएका २९ जनामध्ये २५ जना नेपालगन्ज उपमहानगरपालिकामा २२ र कोहलपुर नगरपालिकाका ३ जना छन् । जुन कूल कोरोना मृत्युको ८६.२० प्रतिशत हो । जिल्लाको कोरोनाबाट भएको मृत्युमध्ये नेपालगन्जको मात्र ७५ प्रतिशत हो । जिल्लामा नरैनापुर, बैजनाथ, जानकी र खजुरामा एक एक जनाको ज्यान गएको छ ।
जिल्लामा कोरोना संक्रमितको संख्याको आधारमा पनि सहरी क्षेत्र नै बढी जोखिममा रहेको देखिन्छ । सहरी क्षेत्रमा मात्र ७७ कोरोना व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार जिल्लामा कूल कोरोना संक्रमितमध्ये नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा एक हजार तीन सय १२, कोहलपुर नगरपालिकामा ४ सय १० र संस्थागत (सरकारी कार्यालय, सुरक्षा निकाय, वित्तीय संस्थालगायत) गरी २ हजार १ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन जिल्लाको कूल कोरोना संक्रमितको ७७ हो । संस्थागत रुपमा १५.७ प्रतिशत कोरोना पोजेटिभ देखिएका अधिकांश कार्यालय नेपालगन्ज र कोहलपुरमा मात्र छन् ।
नेपालगन्जमा मात्र जिल्लाको झन्डै आधा ४६.८ प्रतिशत संक्रमित छन् । त्यसपछि कोहपुरमा १४.६ प्रतिशत, खजुरामा ६.६७ प्रतिशत (१८७), नरैनापुरमा ४.३५ प्रतिशत (१२२ जना), राप्ती सोनारीमा ४.०३ प्रतिशत (११३ जना), बैजनाथमा ३.३५ प्रतिशत (९४ जना), जानकीमा २.९३ प्रतिशत (८२ जना), डुडुवामा १.५७ प्रतिशत (४४ जना) रहेका छन् । जिल्लामा कोरोनाबाट अहिलेसम्म २९ जनाको ज्यान गइसकेको छ । आइसोलेसनमा ५ सय ६५ जना छन् । कोरोना जितेर डिस्चार्ज हुने संख्या भने २ हजार २ सय २७ छ ।