टोलमै जितजितमा विवाद मिल्दा झगडिया खुसी

नेपालगन्ज उपमहानगरपालिकाको इजलास । फाइल फोटो

मानबहादुर ठकुल्ला । टीकापुर
पहिला पहिला गाउँमा कुनै विवाद वा झैझगडा गाउँमा नै समाधान हुन्थ्यो । मुखिया, बडघर, प्रधानपञ्चले मिलापत्र गराउन मध्यस्थता गर्थे । जुन त्यति प्रभावकारी हँुदैन, टीकापुर नगरपालिका ८ का जेष्ठ नागरिक खन्टे साउँद त्यतिबेलाको न्याय प्रणाली सम्झन्छन्, पक्ष विपक्षलाई बोलाएर छलफल हुन्थ्यो । सामान्य विवादमा पनि दण्ड जरिबाना गरिन्थ्यो । जसले गर्दा दुई पक्षबीच गराइएको छलफल चित्तबुझ्दो नहुने र झन विवाद भइ बोलचाल बन्द हुने एक अर्काबीच पानी बाराबार हुन्थ्यो ।
थारु समुदायमा पनि बडघर, भल्मन्सा, प्रधानपञ्चलगायतका ब्यक्तिको रोहवरमा विवाद मिलापत्र गरिने प्रचलन थियो । विवाद समाधानको यो विधि पनि विवादका दुबै पक्षका लागि स्वीकार गर्नसक्ने खालको हुँदैनथ्यो । एउटा पक्षले अन्याय महसुस गर्ने गरेको टीकापुर ८ बटनपुरका ठग्गु थारु अनुभव सुनाउँछन् ।
स्थानीय सरकार बनेपछि अहिले पहिले जस्तै गाउँटोलका समस्या स्थानीय स्तरमै समाधान हुने गरेका छन् तर फरक यति छ, अहिलेको विवाद समाधान हुँदा झगडिया दुबै पक्षले जितजितको महसुस गर्छन् । कैलालीको टीकापुर नगरपालिकाको वडा स्तरमा हुने द्वन्द्व तथा विवाद स्थाीनय स्तरमै वडा स्तरीय मेलमिलाप केन्द्रबाट समाधान गर्छ ।
विगतमा समुदायस्तरमा मिलापत्र गरिएका विवाद पुनः प्रहरीका जाने गर्थे । जहाँ नियम कानून अनुसार मिलाइ पठाउने गरेको जहाँ समय पनि लाग्ने पैसा पनि खर्च हुने गरेको स्थानीय पुनिराम चौधरी बताउनुुहुन्छ । तर अहिले सामुदायिक मेलमिलाप केन्द्रमा विवाद समाधान गर्दा दीर्घकालिन रुप समस्या समाधानका लागि छलफल हुने गरेको मेलमिलाप केन्द्रका संयोजक रामस्वरुप चौधरी बताउँछन् ।
मेलमिलाप केन्द्रमा विवाद समाधान गर्दा समयको बचत हुने, पैसा खर्च नहुने, दुबै पक्षको चित्तबुझ्दो तरिकाले विवाद समाधान हुने गरेको टीकापुर नगरपालिका वडा न ७ प्रतिपुरकी सीता परियारको अनुभव रहेको छ ।
त्यस्तै, जग्गा विवादमा सामुदायिक मेलमिलाप केन्द्र टीकापुर ७ सती पुगेका रामबहादुर ठकुल्ला दुबै पक्षबीच निष्पक्ष रुपमा छलफल गरी दुवैको चित्त बुझ्दो तरिकाले जितको महशुस गराएर मिलापत्र गरेको र छिटो छरितो पनि भएको बताउँछन् । प्रहरी कहाँ गएको भए समय पनि लाग्ने पैसा पनि खर्च हुन्थ्यो तर यहाँ सबै चिजको बचत भएकाले स्थानीय खुसी भएका छन् । स्थानीयस्तरमा वडा स्तरीय मेलमिलाप केन्द्र स्थापना भएपछि देवानी प्रकृतिका मुद्दा प्रहरी चौकीमा आउन छोडेको प्रहरी चौकी सतीका इन्चार्ज प्रहरी नायब निरीक्षक चरणसिह बुढथापाले बताए ।
सामुदायिक मेलमिलाप केन्द्र टीकापुर ७ सत्तीले हालसम्म १० वटा विवादमध्ये ७ वटा विवाद समाधान गरी मिलापत्र गरेको २ वटा प्रकृयामा रहेको र १ वटा विवाद मिलाउन नसकेर नगरपालिकाको न्यायिक समितिमा पठाएको मेलमिलाप केन्द्रका संयोजक राम स्वरुप चौधरीले जानकारी दिए । त्यसैगरी टीकापुर नगरपालिका वडा नं ८ मा वडास्तरीय सामुदायिक मेलमिलाप केन्द्रले पनि देवानी खालका मुद्दा स्थानीयस्तरमै मिलापत्र गर्ने गरेको छ । मेलमिलाप केन्द्रका संयोजक गणेश साउँदका अनुसार हालसम्म ४ वटा विवाद आएकोमा दुई वटा विवाद समधान गरिसकेको र २ वटा प्रकृयामा रहेको जानकारी गराए । त्यस्तै, टीकापुर नगरपालिका वडा न ९ मा रहेको सामुदायिक मेलमिलाप केन्द्रमा पनि ४ वटा विवाद आएकोमा २ वटा विवाद समाधान भइसकेको र २ वटा प्रकृयामा रहेको संयोजक राजराम चौधरीले बताए ।
२०७६ साल कार्तिक महिनादेखि संचालनमा रहेका सामुदायिक मेलमिलाप केन्द्रले स्थानीयस्तरका विवाद सजिलै रुपमा समाधान गर्न सफल भइरहेको टीकापुर नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्ला बताउँछन् । मेला मिलाप केन्द्रमा भौैतिक पूर्वाधारको भने कमि रहेको मध्यस्थताकर्ताहरु गुनासो गर्छन् । सामुदायिक मेलमिलाप केन्द्र व्यवस्थापनका लागि आवश्यक सामग्री अभाव रहेको जसका लागि स्टेशनरी लगातका सामग्री व्यवस्थापन गर्न जरुरी रहेको मेलमिलाप कर्ता रतन टमट्टा बताउनुहुन्छ ।
टीकापुर नगरपालिका अन्र्तगत गठित न्यायिक समितिका कानुन अधिकृत केशरबहादुर थापाका अनुसार नगरपालिकामा हालसम्म ५१ वटा विबाद तथा मुद्दा दर्ता भएकोमा ३१ वटा विवाद तथा मुद्दा छिनोफानो गर्न सफल भएको र ९ वटा विबाद तथा मुद्दा प्रक्रियामा रहेको र न्यायिक समितिले मेलमिलापको माध्यबाट छलफल गराउदा मिलापत्र गर्न नसकि अदालत पठाएका ११ वटा विवाद तथा मुद्दारहेको समेत जानकारी दिए ।
अधिकृत थापाका अनुसार न्यायीक समितिमा ठाडो निवेदनका आधारमा छलफल गराइएका विवाद ३२ वटा छन् ।
न्यायीक समितिमा लेनदेनका १८ र जग्गा खिचलो सम्बन्धी ९ वटा मुद्दा छन् । त्यस्तै, अंश विबाद, बाटो निकासी सम्बन्धि र खानलाउन नदिएर घरनिकाला सम्बन्धि चार चार वटा छन् । ध्वनीप्रदुषण, झन निकास, जग्गा जालसाँची र कुलो विबाद सम्बन्धी दुई दुई वटा छन् । धनमाल फिर्ता, ज्यालामजदुरी, पशुचोरी, जग्गा क्षतिपूर्तिका एक एक वटा मुद्दा परेका छन् ।