‘नागमणी’को मोल २ करोड !

नागमणीको नाममा ठगि गर्ने अभियोगमा पक्राउ गरेका युवालाई सार्वजनिक गर्दै बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर राना । फोटो सौजन्य : जिप्रका बाँके

नेपालगन्ज : नागमणीको मोल झन्डै २ करोड रुपैयाँमा राखेर कारोबार गरेर ठगि गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाका अनुसार दाङ घोराही उपमहानगरपालिका–१७ का माधवप्रसाद घिमिरेबाट बहुमूल्य नागमणी बापत एक करोड उनानब्बे लाख पचास हजार रकम लिइ ठगि गर्ने तीन युवा पक्राउ परेका हुन् ।
दैलेख नौमुले गाउँपालिका–४ का धनबहादुर रोका, सल्यान कुमाख गाउँपालिका–५ का कृष्ण शाह र सल्यानकै शारदा नगरपालिका–९ का डिल्लीबहादुर बोहरा १५ कार्तिकमा नेपालगन्ज–१ धम्बोझीबाट पक्राउ परेका हुन् । प्रहरीले उनीहरुबाट नगद ४० लाख पनि बरामद गरेको छ । उनीहरुले नागमणी आफूसाथ राख्दा यसको धार्मिक महत्व हुनुका साथै व्यापार व्यावसाय राम्रो हुन्छ, घरमा लक्ष्मीको बास हुन्छ, परिवारका सदस्यको आयु लामो हुन्छ, घर परिवारमा सुख, शान्ति र समृद्धि हुन्छ भन्ने प्रलोभनमा पारेका थिए ।