तिहार सुरु, भाइटीको शुभसाइत बिहान ११:३७ बजे

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमपञ्चकका ५ दिनमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोरु र भाइपूजा गरिन्छ

नेपालगन्ज : हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको अध्यक्ष गौतमले बताएका छन् ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिन मनाइने भएकाले यसलाई यमपञ्चक भन्ने गरिन्छ । यी पाँच दिनमा काग, कुकुर, गाई, लक्ष्मी, गोबर्धन (गोरु) र भाइपूजा गरिन्छ ।

काग तिहार
तिहारपर्वको पहिलो दिन अर्थात कार्तिक कृष्ण त्रयोदशीका दिन कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाईन्छ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा–फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ । आजैका दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

कुकुर तिहार
यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना खुवाएर पूजा गरी माला लगाइदिने चलन रहेको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिन्छ । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोररडाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ ।

गाईतिहार र लक्ष्मी पूजा

यमपञ्चकको तेस्रो दिन अर्थात् कार्तिक कृष्णपक्ष औंसीका दिन लक्ष्मीपूजा र गाईतिहार मनाइन्छ । यस दिन लक्ष्मीलाई धनधान्यकी देवी र गाईलाई गौमाता मानेर पूजा गरिन्छ । यो दिन बिहान सबैको घरमा गाईलाई फूलमालाले सिंगारी शरीरमा चामलको पिठो र दूधले छाप लगाई अबीर, केशरी, फूल, अक्षता साथै जनै पूर्णिमामा लगाएका रक्षाबन्धनको डोरो गाइको पुच्छरमा बाँध्ने पनि गरिन्छ । यसरी गाईपूजा सकेपछि साँझ लक्ष्मीको पूजा गरिन्छ । यस दिन घर, आँगन, चोक, गाईको हरियो गोबरले लिपेर स्वच्छ र चोखो पारिन्छ । साथै ढुकुटी र भण्डारसम्म चामलको पिठोको लक्ष्मीको पाइला चिन्ह बनाएर राखिन्छ अनि भण्डार कोठामा पैसा, सुन, चाँदी राखेको ठाउँनेर दियो कलश राखी लक्ष्मीको मर्ति राखी पूजा गरिन्छ । लक्ष्मीको पूजा पछि झ्याल ढोकामा माटाका पाला, मैनबत्ती रंगीविरंगीका बिजुलीका चिमले दिपमालिका सजाइन्छ, सक्नेले ५ दिन र नसक्नेले लक्ष्मीपूजा र गोबद्र्धनपूजा दुई दिनमात्र भए पनि घर उज्यालो पार्छन् ।

गोरु तिहार
यमपञ्चकको चौंथो दिन अर्थात कार्तिक शुक्लपक्ष प्रतिपदाको हल तिहार वा गोवर्धन पूजा मनाइन्छ । नेपालीहरुले परम्पराअनुसार गोरु तथा गोबर्धन पूजा गरि मनाउँछन् । कृषकको जमिन जोत्न र गाडा तान्न सहयोग गरेकाले विभिन्न परिकार गोरुलाई खुवाउने र पूजा गर्ने परम्परा छ ।

भाटीका
तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान–सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा–मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान–दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवं दीर्घायूको कामना गरिन्छ ।