खसीको भन्दै बाख्राको मासु बिक्रि गर्नेलाई ५० हजार रुपैयाँ जरिबाना

नेपालगन्जको थ्री स्टार फ्रेस हाउसमा अनुगमन टोली । फोटो सौजन्य : गोविन्द शर्मा

नेपालगन्ज : मानव स्वास्थ्यका लागि खान अयोग्य मासु बिक्रीमा राख्ने एक मासु पसेललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
नेपालगन्ज उप–महानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले बजार अनुगमन गर्दा वाणिज्य कार्यालयले बागेश्वरी हलरोडमा रहेको थ्री स्टार फ्रेस हाउसलाई ५० हजार जरिबानासहित बन्द गरेको उपमहानगरका अधिकृत दीपेन्द्र श्रेष्ठले बताए । पसलमा बाख्राको मासुलाई खसीको भन्दै बिक्रि गरेको तथा खान अयोग्य, सडेको ३५ किलो मासु बिक्रिका लागि राखिएको पाइएको थियो । अनुगमन टोलीले पसलमा राखिएका चारवटा बाख्रासमेत नियन्त्रणमा लिएको थियो ।
अनुगमन टोलीमा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, खाद्य प्रविधि कार्यालयका विवेकुकमार सुवेदी, उपभोक्ता हित संरक्षण मञ्चका प्रभातकुमारी ठकुरी, नेपालगन्ज उप–महानगरपालिकाका पशु सेवा शाखा प्रमुख लक्ष्मी शाहीलगायतको सहभागिता रहेको थियो ।