कवि पौडेलको ‘मातृस्नेह’ कविता सङ्ग्रह विमोचन

मुरली गोडिया । गुलरिया
बर्दियाका कवि यदुनन्दन पौडेलको कविता सङ्ग्रह ‘मातृस्नेह’ को विमोचन गरिएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औं जन्मजयन्तीको अवसरमा भेरी साहित्य समाज बर्दियाको आयोजना र बर्दियाली साहित्य समाज, कृष्णसार पाठक मञ्च र लुम्बिनी वाङ्मय प्रतिष्ठानको सहकार्यमा बर्दियाको बढैयाताल गाउँपालिकामा शुक्रबार आयोजित कार्यक्रममा भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष हरिप्रसाद तिमिल्सिनाले विमोचन गरेका हुन् ।
कृतिको लोकार्पण गर्दै अध्यक्ष तिमिल्सैनाले ‘मातृस्नेह’ कविता संग्रह बर्दियाली साहित्यको क्षेत्रमा एक नयाँ आयाम थपिएको बताए ।
कार्यक्रममा कृतिकारको व्यक्तित्वका बारेमा भेरी साहित्य समाजका केन्द्रीय सदस्य तथा बाँसगढी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ईश्वरीप्रसाद रिजालले पौडेल कवि मात्रै नभएर एक कुशल कलाकार पनि भएको जानकारी गराए । कार्यक्रमका वक्ताले सिर्जना लेखन भन्दा अध्ययन बढी हुनुपर्ने, नियमित साधना र असल पाठक बन्नुपर्नेमा जोड दिएका थिए ।