यस्तो अत्याधुनिक बन्दैछ ‘नेपालगन्जमा सिटी हल’

‘नेपालगन्ज सिटी हल’ थ्रीडी स्केच । सौजन्य : संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्ज

नेपालगन्ज :  काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहको झल्को दिने गरी नेपालगन्जमा अत्याधुनिक सभागृह बनिरहेको छ ।
सहरी विकास मन्त्रालयले नेपालगन्ज उपमहानगरपालिका– १४ भवानीयापुरमा चार तले ‘नेपालगन्ज सिटी हल’ निर्माण गरिरहेको छ । बाँकेका सांसद मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्री हुँदा ‘नेपालगन्ज सिटी हल’का लागि बजेट विनियोजन गरेका हुन् ।
संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्जका सूचना अधिकारी इन्जिनियर होमनाथ भुसालका अनुसार २६ करोड ८४ लाख ४४ हजार रुपैयाँको लागतमा अत्याधुनिक थियटरसहितको सिटी हल निर्माण भइरहेको छ । ‘६० प्रतिशत काम सम्पन्न भइसकेको छ । यही आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य हो । कोरोनाका कारण म्याद थप गर्नुपर्ने पनि हुन सक्छ’, भुसालले प्रष्ट पारे । २५ माघदेखि निर्माण भइ २४ साउन २०७८ मा निर्माण सम्पन्न गर्ने लक्ष्य सम्झौता पत्रमा छ । सभागृहमा ८ सय सिट क्षमता छ । फिल्म हलमा जस्तै बाल्कोनी पनि बन्दैछ ।

अण्डरग्राण्डमा २५ वटा चार पाङ्ग्रे र ६० दुई पाङ्ग्रे सवारी अट्ने पार्किङको व्यवस्था गरिएको सव–इन्जिनियर वसन्ता बुढाथोकीले जानकारी दिइन् । पहिलो र दोस्रो तलामा एक–एक वटा र दोस्रो तलामा दुई वटा साना हल पनि बनाइएको छ । थियटरमा जस्तै चेञ्जिङ रुम, रिहर्सल, प्रशासनीक हललगायतको व्यवस्था छ । लिफ्ट नै राख्न मिल्ने गरी संरचना बने पनि सम्झौतामा भने लिफ्ट परेको छैन ।
नेपालगन्ज उपमहानगरपालिका–८ मा रहेको पूरानो सभागृह भत्काएर सपिङ कम्प्लेक्स बनाउने निर्णय गरेको उपमहानगरपालिकाले नेपालगन्जको मूल बजारदेखि झन्डै ५ किलो मिटर टाढा अत्याधुनिक सभागृह बनाउनका लागि २ विगाह ८ कठ्ठा जग्गा उपलब्ध गराएको हो । सिटी हल मात्र साढे पाँच कठ्ठा क्षेत्रफलमा बनिरहेको छ । ‘नेपालगन्ज सिटी हल’ निर्माण गरेर मन्त्रालयले उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने जनाएको छ ।