खेलकुदकर्मीको आयोजनामा ६३ जनाले गरे रक्तदान

नेपालगन्ज : नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन् ।
नेपालगन्जको रामलीला मैदानस्थित सरस्वती मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रमको कांग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले रक्तदान कार्यक्रमको शुभारम्भ गरेका हुन् । कार्यक्रममा कांग्रेस बाँके जिल्ला सभापति किरण कोइराला, प्रदेश सभा सदस्य मोहम्मद याकुव अन्सारी, कांग्रेस खेलकुद विभाग सदस्य शान्ति सिंहलगायतले रक्तदानको महत्वको विषयमा धारणा राखेका थिए । कोरोना कहरका कारण भइरहेको रगत अभाव पूर्ति गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको संघका केन्द्रीय सदस्य नरेन्द्र थापाले बताए ।