रिक्सामा छुटेको साढे सात लाख हस्तान्त्रण

खम्बप्रसाद पुन, नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले प्रविधिको अधिकतम प्रयोग गरेर रिक्सामा छुटेको रकम फेला पार्न सफल भएको छ । दाङका दत्तबहादुर नाथले भारतबाट फर्कनेक्रममा अटो रिक्सामा छुटेको ७ लाख ४० हजार रुपैया सिसि क्यामेराको सहयोगबाट पत्ता लागाएको हो ।
नाथले भे १ ह ५०१९ नम्बरको अटो रिक्सामा नेपालगन्जको पुष्पलाल चोकबाट काँरकादो जानेक्रममा नगद राखेको झोला बिर्सेर छोडेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा जडित सिसि क्यामेराको सहयोगले रिक्सा चालक नेपालगन्ज १४ का देवराज वर्मालाई सम्पर्क गरी रकम सहितको झोला पत्रकार सम्मेलनमा बुझाईएको थियो ।

रकम बुझाउँदै बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले अबको समाज प्रबिधि मैत्री भएर जान जरुरी भएको बताए । ‘प्रबिधिको प्रयोगबाट अपराध अनुसन्धानमा सहयोग पुगेको छ’ उनले भने ।