गृहजिल्लामा कलाकार उत्पादन गर्दै बरिष्ठ रंगकर्मी वीरेन्द्र हमाल

नेपालगन्ज : बरिष्ठ रंगकर्मी वीरेन्द्र हमाल आफ्नो गृह जिल्ला बाँकेबाट राष्ट्रिय स्तरका कलाकार उत्पादन गर्ने अभियानमा जुटेका छन् । रंगकर्मी हमाल नेपालगन्जका स्थायी वासिन्दा हुन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नेपालगन्जमा आयोजना गर्न लागेको सात दिने कार्यशालाबारे मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा हमालले भने, ‘बाँकेबाटै राष्ट्रिय स्तरका रंगकर्मीहरु उत्पादन गर्ने मेरो लक्ष्य हो । त्यसका लागि थियटर फेष्टिबल आयोजना गर्ने मेरो योजना रहेको छ ।’
उनले नाट्य, चलचित्र कलाप्रति चासो र रुचि राख्नेका लागि पहिलो पटक नेपालगन्जमा प्रशिक्षणको आयोजना गरिएको बताए । प्रशिक्षणमा बाँके, बर्दिया, दाङ, कैलाली, सुर्खेतलगायतका जिल्लाबाट करिब ३ दर्जन युवा कार्यशालामा सहभागी हुँदैछन् । कार्यशालाको मुख्य प्रशिक्षकमा हमाल आफै छन् । नाट्य कला क्षेत्रमा राष्ट्रिय स्तरमा स्थापित हमालले नेपालगन्जमा कला क्षेत्रमा रुचि राख्नेहरुको प्रतिभा निखार्न उनीहरुका लागि प्रशिक्षणको आयोजना गर्न लागेको प्रष्ट पारे ।
कार्यक्रममा वरिष्ठ पत्रकार पूर्णलाल चुकेले आफैमा समृद्ध भएको अवधी कला संस्कृतिको जगेर्ना र प्रवद्र्धनका लागि पनि प्रतिष्ठानले सोंच्नुपर्ने बताउनु हुँदै स्थानीय युवाहरुमा लुकेको अन्तरनिहीत कला र प्रतिभालाई उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गरे । त्यस्तै वरिष्ठ लोक गायक कमल विके निर्मोही, चलचित्र पत्रकार रामचन्द्र पौडेललगायतले नेपालगन्जमा नाट्य कार्यशाला आयोजना हुनु गर्व र आफैमा एकदमै महत्वको विषय भएको बताएका थिए । नाट्य कार्यशालाको उद्घाटन बुधवार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपनि वरिष्ठ कलाकार हरिहर शर्मालको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रमबीच हुँदैछ ।

को हुन् वीरेन्द्र हमाल
हमाल नेपालगन्ज उपमहानगरपालिका २ घरवारी टोलका निवासी हुन् । उनी बाल्यकालदेखि नै नेपालगन्जमा कलाकारिताको क्षेत्रमा आवद्ध थिए । अहिले नेपाल सांस्कृतिक प्रतिष्ठान, राष्ट्रिय नाचघरको नाट्य विभागका प्रमुख छन् । वि.सं २०४० सालमा कलाकारिताको सीप सिक्न काठमाडौं लागेका हमालले छात्रवृत्ति पाएपछि भारत, चीन, कोरियालगायतका मुलुकमा गएर प्रशिक्षण लिन गएका थिए । उहाँद्वारा प्रशिक्षित कलाकारहरु नेपालकै चर्चित कलाकारको रुपमा अहिले स्थापित भएका छन् । आफ्नो जन्मथलो नेपालगन्जमै कलाकारिता र विशेषगरि नाट्य कलाको विकासका लागि आगामी दिनहरु समर्पण गर्ने अठोट लिएको बताउँछन् । हमाल निकट भविष्यमा नाट्य फेष्टिवलको आयोजना गर्नुका साथै अवधी संस्कृति र कलाको जगेर्ना र प्रवद्र्धनका लागि पनि काम गर्ने योजना सुनाउँछन् ।