जिल्ला प्रशासनमा टोकन प्रणालीका साथै अत्याधुनिक सेवाग्राही कक्ष स्थापना

नेपालगन्ज :जिल्ला प्रशासन कार्यालय बाँकेमा सुविधा सम्पन्न सेवाग्राही कक्ष स्थापना गरिएको छ । खासगरी नागरिकता, राहदानी वितरण लगायतका सेवा प्रवाह गर्दा भिडभाड हुने भएकोले त्यसको व्यवस्थापनका लागि टोकन प्रणाली सिस्टम लागु गर्नुका साथे सेवाग्राही कक्ष संचालनमा ल्याईएको हो ।
सरकारी संरचना र व्यवहारहरु सेवाग्राहीमैत्री नभएको भन्दै शासन प्रकृया जनमैत्री र जनउत्तरदायी बनाउन सेवाग्राहीको सहजताका लागि सेवाग्राही कक्ष संचालनमा ल्याईएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाँगले बताए । कुल ३६ लाखको लागतमा संचालनमा आएको सेवाग्राही कक्ष स्थापनाका लागि नेपालगन्ज नगरपालिकाका २३ वटै वडाहरुले सहयोग गरेका छन । सेवाग्राही कक्षको बुधबार नेपालगन्ज उपमहानगरका मेयर डा. धवलशमसेर राखाले उद्धाटन गरे । उद्धाटन गर्दै मेयर राणाले यसले कार्यालयमा हुने अनावश्यक भिडभाडमा कमी भई छिटो छरीतो र सहज तरिकाले सेवा प्रवाह हुने बताए ।


सेवाग्राही कक्ष संचालन गरी टोकन प्रणाली लागु गरेपछि कार्यालयमा सेवा लिन आउने सेवाग्राही समेत खुसी भएका छन ।
टोकन प्रणालीमा बास नेपालगन्जले सहयोग गरेको छ भने पिउने पानी सहितको १०० जना क्षमताको अत्याधुनिक सेवाग्राही कक्षमा वडा कार्यालयहरुको सहयोग रहेको छ । यसले कार्यालयको सेवाप्रवाह प्रभावकारी हुनुका साथै सेवाप्रदायक र सेवाग्राही दुवैलाई सहज भएको छ ।