थियटर माग्दै कलाकारको प्रदर्शन (फोटो फिचर)

नेपालगन्जमा थियटरको माग गर्दै कलाकारको प्रदर्शन । फोटो सौजन्य  : वीरेन्द्र हमाल

नेपालगन्ज : बाँकेमा थियटर (रंगमञ्च)को माग गर्दै कलाकारले प्रदर्शन गरेका छन् ।
बरिष्ठ नाट्यकर्मी वीरेन्द्र हमालको नेतृत्वमा कलाकर्मी सुन्दर गुरुङ, कमल विके निर्मोही, वीरेन्द्र यादवसहित कलाकारको टोलीले बुधबार नेपालगन्जको वीपी चोक र नेपालगन्ज उपमहानगरपालिका परिसरमा थियटर माग गरेका प्ले कार्ड र मास्क बोकेर प्रदर्शन गरेका हुन् । टोलीले नगर प्रमुख डा. धवल शम्सेर राणासँग रंगमन्चको आवश्यकताबारे ध्यानाकर्षण गरेको हो । मेयर राणाले तत्काल अत्याधुनिक रंगमन्च बनाउन नसकेपनि नेपालगन्जमा जीर्ण रहेका नगरभवन, रामलिला मैदानमा रहेको भवन, बालमन्दिरको भवन र निर्माणाधीन नेपालगन्ज सिटी हललाई प्रयोग गर्न सकिने आश्वासन दिएका थिए । उनले चार मध्ये उपयुक्त ठाउँ छनौट गर्न कलाकारलाई आग्रह गरेका छन् । रंगकर्मी हमाल थियटरबारे सम्भाव्यता अध्ययन गरेर चाँडै काम सुरु गरिने बताउँछन् ।