नाट्य कार्यशाला सम्पन्न, ३ कलाकारलाई सम्मान

नेपालगन्ज : नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नेपालगन्जमा आयोजना गरेको सात दिने नाट्य कार्यशाला मंगलबार सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य सुरेन्द्र हमाल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य निशा शर्मा पोखरेल, शान्ति–महेन्द्र हमाल प्रतिष्ठानका संरक्षक शान्ति हमाल, वरिष्ठ पत्रकार पूर्णलाल चुकेले सहभागीलाई प्रमाण पत्र वितरण गरेका थिए ।


वरिष्ठ संगीतकार तथा गायक स्वर्गीय महेन्द्र हमालको स्मृतिमा स्थापित शान्ति–महेन्द्र हमाल प्रतिष्ठाद्वारा कला संगीतको संरक्षण, सम्बद्र्धन एवं प्रबद्र्धनमा योगदान गरेको भन्दै लोकगायक कमल विके निर्मोही, नृत्य निर्देशक सुन्दर गुरुङ्ग र अवधीभाषी रंगकर्मी वीरेन्द्र हमाललाई सम्मान गरिएको थियो । कलाकारत्रयलाई प्रदेश सभासद् हमाल, प्रतिष्ठानका संरक्षक शन्ति हमाल, प्रतिष्ठानका अध्यक्ष तथा एम. आर्ट थियटरका प्रबन्ध निर्देशक वीरेन्द्र हमालले सम्मान गरेका थिए ।
कार्यक्रममा वरिष्ठ पत्रकार पूर्णलाल चुके, भेरी साहित्य समाजका केन्द्रीय महासचिव लेकप्रसाद प्याकुरेल, नृत्य निर्देशक सुन्दर गुरुङ्गलगायतले नेपालगन्जमा भाषा, साहित्य, कला संस्कृतिको क्षेत्रका कार्यरत संस्थाहरुको साझा मञ्चको रुपमा स्थायी सभागृह बनाउन आवश्यक भएको र यसका लाथि स्थानीय, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराएका थिए ।
रंगमञ्च, नाट्य, चलचित्र कलाप्रति चासो र रुचि राख्ने युवाहरुका लागि साताव्यापी अभिनय प्रशिक्षण दिइएको थियो । नेपाल साँस्कृतिक प्रतिष्ठान, राष्ट्रिय नाचघरको नाट्य विभागका प्रमुख वरिष्ठ रंगकर्मी, चलचित्र नायक, निर्देशक वीरेन्द्र हमालले दिएको प्रशिक्षणमा बाँके, बर्दिया, दाङ्ग, कैलाली, सुर्खेत, अछाम, कालिकोट लगायतका जिल्लाहरुबाट ३७ जना युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षार्थीले अवधी नाटक प्रदर्शन गरेका थिए ।