सत्ती भन्सारद्वारा ५ महिनामै वार्षिक लक्ष्यभन्दा साढे एक करोड बढी राजस्व संकलन

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाले ५ महिनामै चालु आर्थिक वर्षको कूल लक्ष्यभन्दा साढे एक करोड बढी राजस्व संकलन गर्न सफल भएको छ ।
टीकापुर नगरपालिका–९ मा रहेको कार्यालयको एक वर्षको राजस्व लक्ष्य ६ करोड ७ लाख ९१ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको पाँच महिनामा मात्र ७ करोड ५९ लाख ४० हजार रुपैया राजस्व संकलन गरेको हो । कार्यालयका निमित्त प्रमुख धर्म बिकका अनुसार ५ महिनामै वर्षभरीको कूल लक्ष्यभन्दा एक करोड ५१ लाख ४९ हजार रुपैयाँले बढी संकलन भइसकेको छ । कार्यालयले श्रावण महिनामा २ करोड ९ लाख १४ हजार, भदौमा एक करोड चार लाख ३५ हजार, असोजमा एक करोड ६७ लाख २४ हजार, कार्तिकमा एक करोड २७ लाख ६१ हजार र मंसिर महिनामा एक करोड ५१ लाख ५ हजार ४२ रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयबाट कपडा, हाडवेयर, इलेक्ट्रोनिक समान र खाद्यान्न लगायतका मालबस्तु आयात हुने गरेको निमित्त प्रमुख बिकले बताए । कोरोना महामारीको बेलामा भारतबाट चोरी तस्करी गरि ल्याउने समानमा प्रहरीले कडाइ गरेका कारण वार्षिक लक्ष्य ५ महिनामा नै पूरा गर्न सफल भएको उनले प्रष्ट पारे ।
केही महिना यता नेपाल प्रहरी ,सशस्त्र प्रहरीले सीमा नाकामा चोरी तस्करीमा कडाइ गरिएको शसस्त्र प्रहरी सीमा सुरक्षा बल खक्रौलाका शसस्त्र प्रहरी निरीक्षक पदमराज भट्टले बताए ।
सत्ती भन्सार कार्यालयमा चालू आर्थिक वर्षको डेढ महिनाका अवधिमा २६ लाख ४८ हजार ९ सय ७१ रुपैया बराबरको अबैधरुपमा नेपाल भित्र्याउन लागेको समान प्रहरीले पक्राउ गरि कारबाही का लागि भन्सार पठाएको थियो । आर्थिक वर्षको साउन र भाद्र महिनामा नेपाल प्रहरी र शसस्त्र प्रहरीले उक्त सामान भन्सार बुझाएको हो । सबैभन्दा बढी नेपाल प्रहरीले १८ लाख ३० हजार ७ सय ४८ रुपैयाँ बराबरको र शसस्त्र प्रहरीले ८ लाख १८ हजार २ सय २३ रुपैया बराबरको माल सामान नियँन्त्रणमा लिएर कारबाहीको लागि भन्सारमा बुझाएको थियो । चोरीको सामानसहित पक्राउ परेका व्यक्तिहरुबाट धरौटी बापत १८ लाख ७८ हजार १ सय ५८ समेत राजस्व उठेको भन्सार कार्यालयले जनाएको छ ।
नेपाललगायत विश्व नै कोरोना महामारीको संन्त्रास भएका बेला नेपालमा कपडा, मोबाईलका पार्टस,, सुर्तीजन्य पदार्थ सर्ति र बिडि बजारमा बढी माग भएकाले आर्थिक वर्षको ५ महिनामा कपडा, मोबाईलका पार्टस,, सुर्तीजन्य पदार्थ सर्ति र बिडि लगायतका सामानहरु बढी पक्राउ गरिएको शसस्त्र प्रहरी सिमा सुरक्षा बल खक्रौलाका शसस्त्र प्रहरी निरिक्षक पदमराज भट्टले जानकारी दिनु भयो । सत्ती भन्सार कार्यालय खक्रौला क्षेत्र, भजनी नगरपालिकाको चर्रा पृथ्वीपुरदेखि श्रीलंका नाकाबाट विभिन्न समयमा अबैध रुपमा नेपाल आयात गरिरहेको अवस्थामा उक्त सामान पक्राउ गरिएको भन्सारका निमित्त प्रमुख विकले जानकारी दिए ।