खजुराका किशोरीलाई पत्रकारिता तालिम

लगनशील किशोरी क्लबका पदाधिकारी र सदस्यहरु पत्रकारिता तालिमको समापनपछि । फोटो सौजन्य : स्याक नेपाल बाँके

खजुरा (बाँके) : सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपाल बाँकेले खजुराका किशोरीहरुलाई पत्रकारिता तालिम दिएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याकले जिल्लामा सञ्चालन गरेको बालविवाह रोकथाम परियोजना अन्तर्गत गठित लगनशील किशोरी क्लबका पदाधिकारी र सदस्यलाई चार दिने पत्रकारिता तालिम दिएको हो । २९ मंसिरबाट सुरु भएको तालिम बिहीबारसम्म सञ्चालन भएको थियो ।
तालिममा सञ्चार, आमसञ्चार, पत्रकारिता, पत्रकारिताको सिद्धान्त, समाचार लेखन, अन्तर्वार्ता, पत्रकार आचार संहिता र फोटो पत्रकारिताबारे सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यास गराइएको थियो । तालिमको सहजीकरण अन्नपूर्ण पोस्ट् दैनिकका उप–सम्पादक शंकरप्रसाद खनालले गरेका थिए । तालिमका क्रममा किशोरीहरुले हस्त लिखित लगनशील मासिक भित्ते पत्रिका प्रकाशित गरेका थिए ।

तालिम समापनको अवसरमा प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतका कार्यक्रम संयोजक आशा बुढाले किशोरीहरुलाई पत्रकारिता तालिममा सिकेको ज्ञानका आधारमा बाल विवाह रोकथाम, नियन्त्रण र मुक्त घोषणा गर्न कलम चलाउन आग्रह गरेकी थिइन् । उनले आग्र्रह गरिन्, ‘बाँकेमा धेरै बालिकाको बाल विवाह भएको पाइएको छ । तपाईहरुको क्षमता अभिवृद्धि गरी बाल विवाह इन्कार गर्न सक्षम बनाएर समाजबाट बाल विवाह न्यूनिकरण गर्दै बाल विवाह मुक्त घोषणा गर्ने लक्ष्य रहेको छ ।’


लगनशील किशोरी क्लबका अध्यक्ष मञ्जु थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थीद्वय चेतना क्षेत्री र भूमिका गिरीले पत्रकारिता तालिमपछि बाल अधिकारका लागि समाचार र लेखहरु लेख्ने प्रतिबद्धता जनाएका थिए । २९ मंसिरदेखि पुस २ सम्म सञ्चालन भएको तालिममा लगनशील किशोरी क्लबका १२ जनाको सहभागिता रहेको स्याक नेपाल बाँकेका खजुरा सुपरभाइजर कल्पना आचार्यले जानकारी दिइन् ।