खाद्य कम्पनीद्वारा १८ हजार क्वीन्टल धान खरिद

नेपालगन्ज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले १८ हजार ५ सय क्विन्टल धान खरिद गरेको छ । मंसिर ७ गते देखि धान खरिद कार्य शुरु गरेको कम्पनीले आईतबार सम्म उक्त परिमाणमा धान खरिद गरेको हो ।
कम्पनीको मुख्य शाखा कार्यालय नेपालगन्जका प्रमुख रामबहादुर विष्टका अनुसार कारकाँदोमा रहेको कम्पनीको गोदाममा ९ हजार ९ सय क्विन्टल धान खरिद गरिएको हो भने बाँकी नेशनल ट्रेडिङ्गको गोदाममा खरिद भईरहेको छ । कम्पनीले यसबर्ष कोरोना महामारीका साथै खरिद कार्य सहज बनाउन टोकन प्रणाली मार्फत धान खरिद गरीरहेको जनाएको छ । टोकनप्रणाली मार्फत धान खरिद शुरु भएपछि यसबर्ष कृषकलाई निकै सहज भएको उनीहरुले बताएका छन । यसअघि धान विक्रिका लागि डनलप, टयाक्टरलगायतले खचाखच भरिने, बर्षातका कारण धान भिज्ने, बिग्रने र हप्तौसम्म पालोकुर्दै रात विताउनुपर्ने अवस्था रहेपनि यसबर्ष भने कुपन प्रणाली अनुसार तोकिएको दिनमै धान बेच्न पाउँदा कृषकहरु खुसी भएका हुन ।
कम्पनीको मुख्य शाखा कार्यालय नेपालगन्जले यसबर्ष पहिलो चरणमा ४० हजार क्विन्टल मोटो र मध्यम धान खरिद गर्ने लक्ष्य राखेको छ । सरकारले तोकेको समर्थन मुल्य अनुसार मोटा धान प्रति क्विन्टल २ हजार ७ सय ३५ रुपैयाँ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँमा कम्पनीमा धान खरिद भईरहेको हो ।