प्रधानमन्त्री र राष्ट्रपति मिलेर जनताको स्वाभिमानलाई हेपे : गगन थापा

नेपालगन्ज : नेपाली कांग्रेसका नेता गगनकुमार थापाले देशको सवोच्च पदमा बसेको प्रधानमन्त्री र राष्ट्रपति मिलेर नेपाली जनताको स्वाभिमानलाई हेपेको आरोप लगाएका छन् ।
बाँकेको नेपालगन्जमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको झगडा मिलाउन नसकेर त्यसको भारी जनतालाई बोकाएको बताए । उनले ओली सरकारको असंवैधानिक कदमविरुद्धमा कुनै अलमलमा नपरी पार्टीका कार्यकर्ताहरुलाई तल्लो तहसम्मको कमिटी परिचालित गरी उभिन आग्रह गरे ।


स्थिरता र समृद्धिको नारा दिएर आएको कम्युनिष्ट पार्टीको पतन देखेर जनताको यो व्यवस्थाप्रतिको विश्वास नउठोस् भन्नेतर्फ कांग्रेस सचेत हुनुपर्ने थापाको भनाइ थियो । उनले अहिले कांग्रेस प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध एक ढिक्का भएर उभिएको सन्देश जनता माझ दिनुपर्ने बताए ।

वर्तमान संविधानले सबै जातजाति, भाषाभाषीको अधिकारलाई संरक्षण गरेकोले संविधानको रक्षार्थ र प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध कांग्रेस प्रतिबद्ध भएको कुरा जनता माझ लिएर जानुपर्ने नेता थापाले कार्यकर्तासँग आग्रह गरे ।