बाँकेका हुलाक कर्मचारीलाई नियमित क्षमता विकास तालिम

नेपालगन्ज : जिल्ला हुलाक कार्यालय बाँकेले हरेक महिनाकोे पहिलो शुक्रबार कर्मचारीको क्षमता विकास तालिम दिन सुरु गरेको छ ।
जिल्लामा रहेका इलाका हुलाक कार्यालयका प्रमुख तथा अतिरिक्त हुलाक कार्यालयका प्रतिनिधीहरुलाई बिहीबार एक दिनको क्षमता विकास कार्यक्रमको आयोजना गरिएको हो । समसामयिक ऐन नियम, सेवा प्रवाहमा गर्नु पर्ने सुधार, समन्वय, जनसम्पर्क तथा कोभिड १९ सम्बन्धी सचेतना विकास तथा क्षमता विकासको तालिम दिइएको हो ।
हुलाक अधिकृत गोबिन्दप्रसाद पाण्डेले मुस्कान सहितका सेवाप्रवाह, सेवाग्राही संगको व्यबहार, स्थानीय तहका जनप्रतिनिधी तथा कर्मचारीसंगको समन्वय, पालना गर्नु पर्ने आचारण तथा अनुशासन, हुलाक सेवामा नविनता तथा छरितोपन, कार्यालय व्यबस्थापन, कर्मचारी परिचालन, कोभिड १९ सचेतनाका बारेमा प्रशिक्षण दिएका थिए ।
जिल्ला हुलाक कार्यालय बाँकेका लेखापाल टीकाराम कँडेलले आर्थिक प्रशासन, इपेमेन्ट, कर कट्टी, सञ्चयकोष तथा कर्मचारीले पाउने उपचार खर्चका बारेमा तथा नायव सुब्बा शान्ता सिंह (शाही) ले कर्मचारी प्रशासन, विदा, हाजिरी, रेकर्ड व्यवस्थापनका बारेमा प्रशिक्षण दिएकी थिइन् ।
अतिरिक्त हुलाक कर्मचारी संघका अध्यक्ष शंखीलाल थारुले कार्यक्रममा अतिरिक्त हुलाकमा काम गर्ने कर्मचारीहरुले लामो समयदेखि कानूनमा व्यवस्था भएको उपचार खर्च नपाएको तथा अतिरिक्त हुलाकका कर्मचारीलाई अन्य कर्मचारी सरह पोशाक सुविधाको व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।
जिल्ला हुलाक कार्यालय बाँकेले प्रत्येक महिनाको पहिलो शुक्रबार जिल्लामा कार्यरत कर्मचारीहरुलाई नियमित रुपमा तनाव ब्यवस्थापन, समय व्यवस्थापन, समन्वय र सहकार्य, सेवा प्रवाह, सूचना प्रविधिको प्रयोग, रेकर्ड व्यवस्थापन, जनसम्पर्क जस्ता कुनै एक विषयमा निरन्तर क्षमता विकास प्रशिक्षण दिने तयारी गरेको छ ।
त्यसैगरी असार मसान्तसम्म आफै वा प्रदेश तथा स्थानीय तहहरुसँगको समन्वयमा ११ इलाका तथा अतिरिक्त हुलाक कार्यालयका भौतिक संरचना मर्मत सुधार तथा रंगरोगनका काम सम्पन्न गरेर बांकेको हुलाक सेवा प्रवाहलाई चुस्त, दुरुस्त तथा जनमैत्री बनाउने योजना अगाडि बढाएको जनाएको छ ।

जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख हुलाक अधिकृत गोविन्दप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यालयमा इलाका हुलाक कार्यालयका प्रमुख तथा अतिरिक्त हुलाक प्रतिनिधि ५५ जनाको सहभागिता रहेको थियो ।