इच्छाशक्तिले कायापलट हुन्छ : नायिका केकी

 नेपालगन्ज : नायिका केकी अधिकारीले इच्छा शक्ति र निरन्तर संघर्षका कारण आफू कला क्षेत्रमा स्थापित भएको बताएकी छन् ।
बास नेपालगन्जको युवा लक्षित कार्यक्रम इन्स्पाइरिङ युथको शुक्रबार नेपालमा सम्पन्न २००औं विशेष श्रृङखलाकी वक्ता नायिका अधिकारीले मसलेदार चलचित्र लोकप्रिय भए झैं जीवनमा संघर्ष हुँदा सफलता प्राप्त हुने बताइन् । उनले यसो भनिरहँदा कार्यक्रमका सहभागीले गड्गडाहट ताली बजाएका थिए । ‘जीवनबाट संघर्ष निकाल्ने हो भने जीवन नै खल्लो हुन्छ’, उनले भनिन्, ‘जतिबेला जीवनमा इच्छा र शक्ति दुबै जोडिएर आउँछ । त्यसपछि कायापलट नै हुन्छ ।’ उनले कोसिस गर्नेहरुको कहिल्यै पनि हार नहुने बताइन् ।
कार्यक्रममा झन्डै पौने घण्टा उत्प्रेरणात्मक मन्तब्यमा खर्चेकी उनले म्युजिक भिडियो, चलचित्र यात्रालगायत आफ्नो जीवन संघर्षको अनुभव बाँडेकी थिइन् । डान्स रियालिटी शोबाट कला क्षेत्रमा प्रवेश गरेकी केकी म्युजिक भिडियो हुँदै सन् २०१० मा चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । आफूले अभिनय गरेका दुई दर्जन चलचित्रले व्यवसायिक रुपमा भव्य सफल नभए पनि कहिल्यै हार नखाएको बताउँदै उनले यस्तो कुराले निराशा र हिनताभन्दा पनि उर्जा मिलेको उनको दाबी थियो ।
बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा, बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर राना, साहारा हाउसका प्रमुख अभिराज क्षेत्री, बास महासचिव शिवकुमार बर्मा, बास कार्यकारी निर्देशक नमस्कार शाहले इन्स्पाइरिङ युथ कार्यक्रमका बारेमा धारणा राखेका थिए । कार्यक्रममा २०० बढीको सहभागिता रहेको थियो ।

बास नेपालगन्जको इन्स्पाइरिङ युथ २००औं श्रृङखला । फोटो : नमस्कार शाहको फेसबुकबाट