बाँकेमा कोरोनाबाट ज्यान गुमाउने ७३% पुरुष

कोरोना संक्रमणपछि बाँके जिल्ला र बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेका २ ठूला अस्पतालमा पुगेकामध्ये कोरोनाबाट ९७ जना पुरुष र ३६ जना महिलाको ज्यान गयो

नेपालगन्ज : बाँके जिल्लाका दुई ठूला अस्पतालमा कोरोनाबाट ज्यान गुमाउनेमध्ये ७३ प्रतिशत पुरुष रहेका छन् ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र्रका कोरोना फोकल पर्सन तेज वलीका अनुसार कोरोनाबाट बाँके जिल्लाका ४९ जना र बाहिरी जिल्लाका ८४ जनाको ज्यान गएको छ । मृतकमध्ये पुरुषको संख्या ९७ छ । जुन कूल मृतकको ७२.७३ प्रतिशत हो । महिलाको संख्या भने ३६ छ । जुन कूल मृतकको २७ प्रतिशत मात्र हो ।
बाँकेमा मात्र कोरोनाबाट महिला मृत्यु ३२.६५ प्रतिशत छ । अर्थात जिल्लामा कोरोनाबाट १६ महिलाले ज्यान गुमाएका छन् भने पुरुष मृतकको संख्या ३३ रहेको छ । बाहिरी जिल्लामा भने कोरोनाबाट ६४ पुरुष र २० महिलाको कोरोनाबाट मृत्यु भएको छ ।