स्वरोजगार बन्दै बढैयातालका दलित महिला

मुरली गोडिया, गुलरिया ।

बर्दियाको बढैयाताल गाउँपालिकाका दलित महिलाहरु विभिन्न व्यवसाय संचालन गरी स्वरोजगार बन्न थालेका छन । कोरोना महामारीको समयमा विभिन्न समस्यामा रहेका उनीहरु हाल कुखुरा पालन, तरकारी खेती, सिलाई कटाई, होटल व्यवसाय लगायतका विभिन्न व्यवसायमा सक्रिय भएका हुन । विगतमा रोजगारीका अवसर नभएको भन्दै भारत जाने या त खाली समय घरमा बसेर विताउने विपन्न वर्गका दलित महिलाहरु समेत पछिल्लो समय गाँउ गाँउमा महिला समुह निर्माण गरी स्वरोजगारमुलक व्यवसायमा संलग्न भएको आदर्श महिला समुह बढैयाताल ५ की अध्यक्ष सुकमाया सुनारले बताईन । ‘उनीहरुलाई आम्दानीको स्रोतको सिर्जना गरि विभिन्न पेशा व्यवसायमा संलग्न गराउन समुहहरुले ऋण लगानी समेत गरेका छन’ उनले भनिन ‘समुहवाट ऋण लिएर व्यवसाय गरेपछि धेरैजनालाई जीविकोपार्जनमा सहज भएको छ ।’


समुह गठन भएपछि विभिन्न हिंसामा परेका विपन्न दलित महिलाहरु सस्तो व्याजदरमा ऋण लिई विभिन्न व्यवसायमा संलग्न हुनेक्रम बढेको छ । व्यवसाय संचालन गरेपछि जीविकोपार्जनमा सहज भएको बढैयाताल ३ की शशी सुनारले बताईन । आफुहरुले समुहवाट ऋण लिएर उत्पादन गरेको बस्तु विक्री बाट मसिक ५० हजार सम्म आम्दानी गर्दै आएको उनको भनाई छ । उनले उद्यमशीलता सम्बन्धी तालिम तथा सहुलियत व्याजदरमा ऋण पाए थुप्रै महिलाहरु व्यवसायमा जोडिने र हिंसा कम हुने बताईन ।
हाल यहाँका महिलाहरुले समुहबाट पैसा निकाली कुखुरा पालन, तरकारी खेती, सिलाई कटाई, होटल व्यवसाय संचालन लगायतका व्यवसाय गरी राम्रो आम्दानी गरीरहेका छन । आर्थिक आम्दानीमा सुधार भएसंगै छोरा छोरीलाई राम्रो शिक्षा दिन सकेको बढैयाताल गाँउपालिका ८ की अर्की महिला व्यवसायी विष्णु परियारले बताईन । आर्थिक अवस्था कमजोर भएका यस्ता महिलाहरुका लागी सरकारले विभिन्न किसीमका तालिम तथा सहयोग गर्न सके आर्थिक अभावले घरमा हुने हिंसा न्युनिकरण गर्नमा सहयोग पुग्ने उनी बताउँछीन ।