किशोरीले खाजाको रकमबाट विपन्न बालबालिकालाई स्वीटर बाँडे

चिसापानी (बाँके) : बाँकेको बैजनाथ गाउँपालिकाका किशोरीहरुले खाजा खर्च कटाएर संकलन गरेको रकमबाट विपन्न परिवारका बालबालिकाहरुलाई स्वीटर बाँडेका छन् ।
एकता किशोरी क्लबमा आबद्ध २५ जना किशोरीहरुले क्लबको दोस्रो वार्षिकोत्सवको अवसरमा बैजनाथ-१ चिसापानीका ८ जना बालबालिकाहरुलाई स्वीटर वितरण गरेका हुन् । चार जना बालक र ४ जना बालिकालाई सहयोग गरिएको क्लबकी अध्यक्ष अनु रावतले बताइन् । अध्यक्ष रावतले भनिन्, ‘जाडो बढ्दै जाँदा पनि उनीहरुले न्यानो कपडा लगाएका थिएनन् । अरु कसैले सहयोग गर्ने नदेखेपछि हामीले गरेका हौं ।’ क्लबले आगामी दिनमा भने बालविवाहपछि घर फर्केका पीडित छात्रालाई सहयोग गर्ने योजना बनाएको छ । क्लबको पहलमा मात्र २ वर्षको अवधिमा बाँकेमा २३ वटा बालविवाह रोकेको छ ।

सोमबार चिसापानीमा आयोजित कार्यक्रममा बैजनाथ गाउँपालिका वडा नं. १ का अध्यक्ष रुपबहादुर मल्ल, कार्यपालिका सदस्य संगीता सुनार, वडा सदस्य भर्थरी थारु, स्याक नेपाल बाँकेका उपाध्यक्ष सरस्वती बुढा, फिल्ड सुपरभाइजर बबिता सिंहले स्वीटर वितरण गरेका थिए । एकता किशोरी क्लबले गत वर्ष वडा कार्यालयसँग रकम माग गरेर विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री र झोला वितरण गरेका थिए ।