राष्ट्रिय अनुसन्धानका प्रविण हत्यामा संलग्न ४ नाबालकसहित ७ अभियुक्त सार्वजनिक (भिडियो)

नेपालगन्ज : राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविण थापा मगरको हत्यामा संलग्न ७ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी नेपालगन्ज उपमहानगरपालिका–१८ लग्दहवाका २४ वर्षका कर्कि भन्ने दिनेशकुमार कुर्मी (वर्मा), सुर्खेत गुर्भाकोट नगरपालिका–१४ का १९ वर्षका निश्चल गुरुङ, जाजरकोट जुनिचाँदे गाउँपालिका–७ का तेजबहादुर बिएम, सुवास थापा, विवेक परियार, सुमित विक र सुशान्त भण्डारीलाई सार्वजनिक गरेका हुन् । अभियुक्तमध्ये थापा, परियार, विक र भण्डारीको उमेर १६ देखि १७ वर्ष मात्र छ ।
अभियुक्तहरु सबै गँजेडी रहेको र गाँजा खाइसकेपछि हेल्मेटको विषयमा विवाद भइ नियोजित रुपमा हत्या गरेको प्रहरीले जनाएको छ । गत २ माघमा नेपालगन्ज उपमहानगरपालिका–१८ सुर्जीगाउँको तोरीबारीमा धारिलो वस्तुले विक्षिप्त रुपमा काटिएको अवस्थामा मगरको शव फेला परेको थियो ।