सस्तो शुल्कमा क्यान्सरको धमाधम शल्यक्रिया

क्यान्सर रोगी चितवन, काठमाडौं र भारतमा उपचार गर्थे । जुन खर्चिलो हुन्थ्यो । अस्पतालले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका रोगीलाई सेवा दिएको छ
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा शल्यक्रिया गर्दै चिकित्सकहरु । फोटो सौजन्य : डा. प्रविण गुप्ता

शंकरप्रसाद खनाल । खजुरा
बाँकेको खजुरास्थित ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ले २७ पुुसमा कालिकोटकी ६८ वर्षीया लक्ष्मी शाहीको स्तन क्यान्सरको शल्यक्रिया ग-यो । कन्सल्टेन्ट सर्जन डा. प्रविण गुप्ता, कन्सल्टेन्ट एनेस्थेसोलिष्ट डा.कृृष्णप्र्रसाद आचार्यलगायतको टोलीले शाहीको बिमा कार्यक्रम अन्तरगत निःशुल्क शल्यक्रिया गरेको थियो । उनी पैसाको अभावमा शल्यक्रिया नगरेर बसेकी थिइन् । अस्पतालमा क्यान्सरको यो पहिलो शल्यक्रिया थियो ।
१३ माघमा बाँकेको राप्ती सोनारी गाउँपालिका–२ की ४५ वर्षीया महिला र दैलेखको नारायण नगरपालिका–९ की ३८ वर्षीया महिलाको पाठेघरको क्यान्सरको स्त्रीरोग विशेषज्ञद्वय डा. प्रविण योगी र डा. मञ्जु शाहको टोलीले शल्यक्रिया गरेको नर्सिङ अधिकृत रञ्जिता ढुङ्गानाले जानकारी दिइन् ।

अस्पतालमा ५ मंसिरदेखि शल्यक्रिया सेवा शुभारम्भ भएको थियो । सुरुमा आउनेहरुलाई अस्पतालले निःशुल्क शल्यक्रिया गरेको थियो । ‘हामीले ३४ वटा सफल अप्रेशन गरेका छौं । त्यसमध्ये १५ जनाको क्यान्सरको अप्रेशन गरिएको छ’, सर्जन डा. गुप्ता भन्छन्, ‘सर्जरी गरिएकामध्ये अधिकांश पाठेघर र स्तन क्यान्सरको समस्या थियो । केही व्यक्तिको अनुहारको छालाको क्यान्सरको शल्यक्रिया गरिएको छ ।’ केही दिनभित्रै पिसाब थैलीको अप्रेशनको तयारी गरेको छ । अस्पतालमा सामान्य शल्यक्रिया कम्तीमा ६ सय रुपैयाँदेखि २ हजार पाँच सय रुपैयाँ र ठूला अप्रेशनको शुल्क १० हजारदेखि १५ हजार रुपैयाँ मात्र छ । जुन अन्य अस्पताल भन्दा धेरै सस्तो भएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालमा तत्कालका लागि पर्याप्त चिकित्सक छन् । सर्जन २ जना, स्त्रीरोग विशेषज्ञ २ जना, एनेस्थेसिया १ जना, नाककान घाँटीको एक जना, ५ जना मेडिकल अधिकृत रहेका छन् । पूर्वाधारको पनि खासै अभाव छैन । अस्पतालमा रेडियो थेरापी (सेक्ने मेसिन)को अभाव थियो । खजुुरा गाउँपालिका अध्यक्ष किश्मतकुमार कक्षपतिले संघीय सरकारको अर्थमन्त्री विष्णु पौडेलसँग यो मेसिन किन्ने रकम निकासा गरिसकेका छन् । अस्पताल सञ्चालक समितिका पूर्वअध्यक्ष र समितिको पदेन सदस्य कक्षपति भन्छन्, ‘अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई २९ करोड ४० लाख रुपैयाँ निकासा गर्न स्वीकृत दिइसकेको छ । अब हामी चाँडै नै खरिद प्रक्रियामा जान्छौं ।’
अस्पतालका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद आचार्य भन्छन्, ‘क्यान्सर उपचारको लागि अब बाहिरी जिल्ला जानु पर्दैन । सस्तो शुल्कमा हामी सबै सेवासुविधा दिनसक्छौं ।’ यसअघि क्यान्सर रोगी चितवन, काठमाडौं उपत्यका, भारतका अस्पतालमा जान बाध्य थिए । जुन आर्थिक रुपमा बढी खर्चिलो हुन्थ्यो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सर रोगीलाई अस्पतालले सेवा दिइरहेको छ । हरेक हप्ता अस्पतालले शल्यक्रिया गरिरहेको छ । आइतबार सर्जरी, मंगलबार स्त्रीरोग र बिहीबार नाक कान घाँटीको शल्यक्रिया गर्ने सूची बनाएकोे छ ।
२०६२ सालमा प्रखर परोपकार मिशनबाट अस्पताल सन्चालनका लागि अभियान शुरु भयो । ११ माघ २०६५ मा धनधान्यञ्चल ज्ञान महायज्ञबाट संकलित पाँच करोड २६ लाख र प्रखर परोपकार मिसन नेपाल नामक संस्थाको तीन करोड २६ लाख ६१ हजार रुपैयाँमा ‘नेपाल क्यान्सर अस्पताल’ को नाममा पूर्वाधार निर्माणका कामहरु थालिएका थिए । जनस्तरबाट सुरु भएको यो अस्पताललाई १५ फागुन २०७३ को मन्त्रिपरिषद् बैठकमा स्वास्थ्यमन्त्री गगन थापाको पहलमा पूर्वप्रधानमन्त्री तथा कांग्रेस पूर्वसभापति स्व.सुशील कोइरालाको नाममा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ का रुपमा सरकारीकरण गरिएको थियो । चार विगाह क्षेत्रफलमा अस्पताल छ । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालपछि सरकारी स्वामित्वमा सञ्चालित भने दोस्रो अस्पताल भएको छ । नेपालमा क्यान्सरकै मात्र उपचार गर्ने सरकारी र निजी गरी (योसमेत) आधा दर्जन मात्र अस्पताल छन् । अन्नपूर्ण पोस्ट्बाट