नेपालगन्जमा आइसीपी निर्माणको काम सुस्त

नेपालगंज : पश्चिम तराईको प्रमुख नाका नेपालगंजस्थित जयसपुरमा निर्माण थालिएको एकीकृत जाँच चौकी (आईसीपी) निर्माण कार्य सुस्त भएको छ । भारत सरकारको सहयोगमा निर्माण भईरहको आईसीपीको परामर्शदाता कम्पनी राइट्स लिमिटेडका अनुसार निर्माण कम्पनीले भारतवाट ल्याउनुपर्ने सामाग्री आयातमा ढीलाई भएका कारण निर्माणले गति नलिएको हो ।
निर्माण कार्य सुरु भएपनि निर्माण कम्पनी राजदीप बिल्डकनले भारतवाट ल्याउनुपर्ने उपकरण तथा सामाग्री नआईपुगेका कारण निर्माण सुस्त गतिमा भईरहेको कम्पनीले जनाएको छ । यता नेपाल सरकारको तर्फबाट सहजीकरण गर्ने जिम्मा पाएको संघिय आयोजना कार्यान्वयन इकाई नेपालगन्जका अनुसार निर्माण कार्य सुस्त भएको जनाइएको छ । ‘अझै निर्माणले गति लिन नसकेको बुझीएको छ’ इकाई नेपालगन्ज्का सूचना अधिकारी होमनाथ भुसालले भने ‘अझै निर्माणले गतिलिन १५÷२० दिन लाग्ने देखिन्छ ।’


नेपाल भारत दुई देशबीचको ब्यापार सहज र व्यवस्थित बनाउन दुई देशबीच सन् २००५ मा भएको सम्झौता अनुसार आईसीपी निर्माण कार्य बल्ल सुरु भएको हो । कुल २ अर्ब ३५ करोड नेपाली रुपैयाको लागतमा भारत सरकारको सहयोगमा निर्माण भईरहेको आईसीपी भारतीय कम्पनी राजदीप बिल्डकनले निर्माण गरीरहेको छ भने परामर्शदाताको रुपमा राइट्स लिमिटेडलाई जिम्मा दिइएको छ ।