बाँके-बर्दियाबाट मोटरसाइकल चोरेर पहाडी जिल्लामा बेच्ने गिरोहका ६ जना पक्राउ 

मोटरसाइकल चोरी गर्ने गिरोहलाई सार्वजनिक गर्दै बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर राना । फोटो सौजन्य : जिप्रका बाँके

नेपालगन्ज : बाँके र बर्दियाबाट मोटरसाइकल चोरेर पहाडमा बिक्री गर्ने गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले चोरीका मोटरसाइकल रोल्पा, प्युठान, दाङ र जाजरकोट जिल्लामा बिक्री गर्ने गिरोहका ६ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेका हुन् । प्रहरीले बाँकेको खजुरा गाउँपालिका ३ धौलागिरीका वर्ष ३५ का रामबहादुर थापा, जुम्ला चन्दननाथ नगरपालिका ११ कालिखोलीका वर्ष ३१ का धीरेन्द्रविक्रम शाही, दाङको गढवा गाउँपालिका ४ खड्कपुरका वर्ष २८ का इरसाद अहमद मुसलमान (वर्कशप मिस्त्री), रोल्पा लुग्री गाउँपालिका १ पाङका (जिपकार भाडामा चलाउने) वर्ष २८ का छविलाल पुन मगर, रोल्पाकै लुग्री गाउँपालिका ५ गुम्चालका वर्ष २४ का नवराज रोका क्षेत्री र नेपालगन्ज १० सुगन्धटोलका वर्ष २८ का रञ्जित शर्मा (वर्कशप मिस्त्री) लाई पक्राउ गर्न सफल भएको छ । प्रहरीले ६ थान चोरी भएका मोटरसाइकल पनि फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको कमाण्डमा विशेष टोली परिचालन गरेर गिरोहलाई पक्राउ गर्न सफल भएको हो ।