आर्ट ग्यालरी उद्घाटनकै दिन ५० हजार रुपैयाँमा बिक्यो राणाको कलाकृति

नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवल शम्शेर राणा र मोर्डन आर्टकी कलाकार शिवाङ्गिनी राणा आर्ट ग्यालरीको उद्घाटन गर्दै । फोटो : मेरो खुसी

नेपालगन्ज : बाँकेमा पनि आर्ट ग्यालरी खुलेको छ ।
नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवल शम्शेर राणा र मोर्डन आर्टकी कलाकार शिवाङ्गिनी राणाले बिहीबार संयुक्त रुपमा नेपालगन्जको होटल वाटिकामा आर्ट ग्यालरीको उद्घाटन गरेका हुन् ।
ग्यालरीमा कलाकार राणा र विमल प्रधानका ४० वटा विभिन्न कलाकृति राखिएका छन् । आर्ट ग्यालरी बिहान ११ बजेदेखि राति ८ बजेसम्म सर्वसाधारणका लागि निःशुल्क रुपमा खुला गरिएको होटल वाटिकाकी प्रबन्ध निर्देशकसमेत रहेकी राणाले बताइन् । ‘नेपालगन्ज र अरु जिल्लाका कलाकारका कलाकृतिलाई स्थान दिइनेछ’, राणाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिइन्, ‘राजधानी बाहिर हामीले पहिलो पटक आर्ट ग्यालरी खोलेका छौं । कलाबारे बुझ्न, आफूलाई मन परेको पेन्टिङ उचित मूल्यमा खरिद गर्न सकिनेछ ।’

आर्ट ग्यालरी उद्घाटनकै दिन बिक्री भएको कलाकार शिवाङ्गिनी राणाको मयुर प्वाँख आकृतिको कलाकृति । फोटो : मेरो खुसी

ग्यालरी उद्घाटनकै दिन राणाको मयुर प्वाँख आकृतिको कलाकृति नेपाल प्रहरीका एसएसपी सौरभ शम्शेर राणाले ५० हजार रुपैयाँमा खरिद गरेका थिए । राणाले खुसी बाँडिन, ‘विगतमा पेन्टिङ किन्न विदेश जानुुपथ्र्यो । अब स्वदेशमै राम्रो पेन्टिङ बनाउने कलाकार छन् । बिक्री पनि भइरहेका छ ।’ स्पेनमा आर्ट सम्बन्धी अध्ययन गरेर फर्केकी राणा विगत ८/९ वर्षदेखि आर्ट क्षेत्रमा व्यवसायिक रुपमा क्रियाशील छिन् । उनले आफ्ना झन्डै तीन सय कलाकृति नेपालका विभिन्न सहर, अमेरिका, बेलायत, अष्ट्रेलिया, भारतलगायतका देशमा विक्री भएको बताइन् । उनका कलाकृति कम्तीमा ५ हजारदेखि बढीमा ४ लाख ५० हजार रुपैयाँमा बिक्री भएका छन् ।

 

1 thought on “आर्ट ग्यालरी उद्घाटनकै दिन ५० हजार रुपैयाँमा बिक्यो राणाको कलाकृति

  1. हार्दिक बधाई राणा जी, राम्रो सुरुवात भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *