जनमत पत्रिकालाई उत्कृष्ट सञ्चार प्रतिष्ठान सम्मान

जनमत सम्पादक पूर्णलाल चुकेलाई रेडक्रस उत्कृष्ट सञ्चार प्रतिष्ठान सम्मान प्रदान गर्दै खजुरा गाउँपालिका अध्यक्ष किश्मतकुमार कक्षपति । फोटो सौजन्य : रुपन ज्ञवाली

नेपालगन्ज : नेपाल रेडक्रस सोसाइटी बाँके जिल्लाले नेपालगन्जको जनमत अद्र्धसाप्ताहिकलाई उत्कृष्ट सञ्चार प्रतिष्ठान सम्मान गरेको छ ।
शाखाको बिहीबार खजुरामा सम्पन्न ३९औ जिल्ला वार्षिक साधारणसभामा वर्षभरी रेडक्रस अभियानलाई प्रसारप्रचार गरी योगदान गरेको भन्दै खजुरा गाँउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जनमतका सम्पादक पूर्णलाल चुकेलाई नगद ५ हजारसहित दोसल्ला ओढाएर प्रशंशापत्रसहित सम्मान गरेका थिए । उत्कृष्ट उपशाखा सेवा रस्कार बागेश्वरी उपशाखालाई सम्मानित गरिएको थियो । २५ पटकभन्दा बढी रक्तदान गर्ने २८ जना स्वयंसेवी रक्तदाताहरुलाई सम्मान स्वरुप नेपाल रेडक्रसको आजीवन सदस्यता प्रदान गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तव, खजुरा गाँउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, गैरसरकारी संस्था महासघ बाँकेका अध्यक्ष नमस्कार शाहलगायतले रेडक्रसले कोरोना रोकथाम र नियन्त्रणमा गरेको कार्यको प्रशंशा गरेका थिए । साधारणसभामा मन्त्री अजिज अहमद सिद्दिकीले रेडक्रसबाट वर्षभरी १ लाख ५५ हजार ५ सय ८७ जना लाभान्वित भएको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले २ करोड ३५ लाख १७ हजार ३ सय ४२ रुपैया खर्च विवरण र ०७८/०७९ को ३ करोड ३२ लाख ४५ हजार ५ सय बरावरको विनियोजित वजेट प्रस्तुत गरेका थिए । नेपाल रेडक्रसका बाँकेमा १७ वटा उपशाखा छन् ।