दोहोरो सवारी सुविधा लिँदै राजापुरका जनप्रतिनिधि

शक्ति परियार । राजापुर
बर्दियाको राजापुर नगरपालिकाका वडा अध्यक्षहरुले दोहोरो सेवा सुविधा लिने गरेको पाइएको छ ।

नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरुले सवारी सुविधा वापत १२ हजार रुपैयाँ लिने गरे पनि वडा सचिवका लागि आवश्यक पर्ने भन्दै पालिकाबाट मोटरसाइकल समेत लिने गरेका हुन् । लुम्बिनी प्रदेश सरकारले गत असारमा स्थानीय तहका पदाधिकारीलाई यातायात खर्च बापत मासिक १२ हजार रुपैयाँ पाउने निर्णय गरेपछि जिल्लामा जनप्रतिनिधिहरुले धमाधम मोटरसाइकल फिर्ता गरेका थिए । तर, राजापुरमा भने वडा अध्यक्षहरुले सवारी साधन फर्काए पनि केही वडाअध्यक्षहरुले वडा सचिवका लागि चाहिने भन्दै पालिकाबाट मोटर साइकल लगेको नगर प्रमुख शिवप्रसाद चौधरीले बताए । वडा सचिवको बाहानामा लगेको मोटरसाइकल वडा अध्यक्ष आफैले प्रयोग गरिरहेको प्रमुख चौधरीले प्र्रष्ट पारे। मासिक सेवा सुविधा वा सवारी साधनमा एक वटा चयन गर्नुपर्नेमा त्यो कार्यान्वयन हुन् नसकेको नगर प्रमुख चौधरी बताउँछन । दोहोरो सेवा सुविधाबारे आगामी कार्यपालिकाको बैठकमा छलफल गरिने उनले बताए ।