छोरी सेल्टरमा, आमाले काम नपाउँदा खर्च अभाव

शंकरप्रसाद खनाल । नेपालगन्ज
सडक विस्तारमा भत्काइएको भग्नावशेष जस्तो घरमा एउटा साँघुरो कोठा । सम्पत्ति नै यति हो । पतिका तीन भाइको आपसी सहमतिमा बाँडिएको एक–एक कोठा अंश । त्यो पनि नाममा आएको छैन । घरमा कमाउने मान्छे भनेकै मुटु रोगी आमा मात्रै । यही कमाइले घरखर्च अनि एक छोरा र एक छोरीको पढाइको जोहो हुन्थ्यो । १६ माघमा विद्यालयबाट घर फर्कँदै गर्दा नेपालगन्जको बसपार्कस्थित एक होटलमा बलात्कार प्रयासपछि सांघातिक आक्रमणमा परेकी १५ बालिकाको घरको अवस्था हो, यो ।
बालिका ६ दिन भेरी अस्पतालमा उपचार गरेर र अहिले १४ दिनदेखि एउटा गैरसरकारी संस्थाको सेल्टरमा बसेकी छन् । उनकी आमाको काम कहिले छोरीको उपचार गर्न अस्पताल त, कहिले मुद्दाबारे जानकारी लिन प्रहरी कार्यालय धाउँदै बित्छ । लकडाउन अघि उनी भारतीय बजार रुपैडियाको एक कपडा पसलमा मासिक १५ हजार नेपाली रुपैयाँमा काम गर्थिन् । यसैबाट साँझ बिहानको दुई छाक र सन्तानको पढाइ खर्च पु-याउनु पथ्र्यो । छोरा एसईई सकेर कोरियन भाषा सिक्न काठमाडौं गएको छ । घाइते छोरी स्थानीय सामुदायिक विद्यालयमा कक्षा ९ मा पढ्थिन् । पीडितकी आमाले भनिन्, ‘लकडाउनपछि सीमा नाका नखुलेर एक वर्ष त बेरोजगार भए । काममा जान थालेको ९ दिन भएको थियो । छोरीको यस्तो घटना भयो ।’ उनी काममा नगएको २० दिन भएको छ । ‘छोरीको एक्सिडेन्ट भएको छ । उपचार हुुँदैछ भनेर जानकारी गराएकी छु’, उनले प्रहरीप्रति आशा राख्दै भनिन्, ‘कहिले प्रहरीले अपराधी समात्ला र काममा जान पाउँला भनेर पर्खेर बसेकी छु ।’
काममा नजाँदा उनको आम्दानीको बाटो सुकेको छ । खर्च घटेको छैन । ‘छोरीको औषधि उपचारमा त मेरो धेरै पैसा लागेको छैन । निःशुल्क नै भएको छ । पटक–पटक अस्पताल र प्रहरी कार्यालय धाउँदा लाग्ने रिक्सा भाडा तिर्दा पनि मलाई गाह्रो भएको छ’, उनले दुःखेसो पोखिन् । उनको उमेर ३५ वर्ष मात्र भयो । छोरीको चिन्ताले दुब्लाएर उमेरभन्दा दोब्बर बुढी देखिन्छिन् । होचो कदकी उनको तौल ३० किलो मात्र छ । १६ वर्षअघि पतिको निधन हुँदा उनले आफ्नै बलबुताले सन्तानलाई हुर्काइन्, बढाइन् । पढाइन् पनि । कहिल्यै बाबुको अभाव महसुस हुन दिइनन् । छोरीमाथि आक्रमण गर्नेमाथि कारबाहीमा ढिलाइ भएकोमा उनी निकै दुःखी बनेकी छन् ।
‘अपराधी भागिसक्यो । उसका परिवारका मान्छे मिलाउनु प-यो । उपचार गर्न लागेको ढाइ तीन लाख रुपैयाँ खर्च दिन्छौं । मुद्दा फिर्ता लिनु प¥यो भनिरहेका छन्’, उनले भनिन्, ‘मेरी छोरीलाई म-यो भनेर फालेर गएको हो । कसरी हामी मिल्न सक्छौं । हामीलाई न्याय चाहिन्छ ।’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाले फरार अभियुक्तको खोजी भइरहेको बताए । ‘हामीले निकै प्राथमिकतामा अभियुक्तको खोजी गरेका छौं । उनलाई न्याय दिलाएर छोड्छौं’, प्रमुख रानाले प्रतिबद्धता जनाए ।

संवाददाताले सेल्टरमा बालिकासँग भेट्दा स्वास्थ्यमा सुधार भइरहेको छ । आँखामा जमेको रगत अझैं रातै छ । अनुहारमा जुत्ताका डाम पनि देखिन्छन् । ‘त्यो घटना सम्झेर सुत्न सक्दिन । मार्न आए जस्तो डर लाग्छ’, पीडित बालिकाले अनुभव सुनाइन्, ‘घटना सम्झँदा टाउँको दुख्छ । मन बेचैन हुन्छ ।’ उनले आफू चाँडै निको भएर पढ्न जान हतार भएको बताइन् । ‘मेरो पढाइ कति छुटिसक्यो’, उनले भनिन्, ‘अंकल आमालाई नेपालगन्जमै कतै जागिर मिल्न सक्दैन ? हामीलाई सहयोग गर्ने कोही पनि छैन र ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *