एसओएस बाँसगढीमा निःशुल्क बालरोग शिविर

बाँसगढी (बर्दिया) : बर्दियाको बाँसगढीस्थित एसओएस स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क बालरोग शिविर सञ्चालन गरिएको छ ।
एसओएस स्वाथ्य केन्द्र बर्दिया तथा लायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रल र अलस्का रामारोशन मेडिकल हल नेपालगन्जले संयुक्त रुपमा बिहीबार शिविर आयोजना गरिएका हुन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा.विष्णुबहादुर थापाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेको शिविरबाट एसओएसका ६८ बालबालिकाहरु लाभान्वित भएको एसओएस बर्दियाका इञ्चार्ज शिव चौधरीले बताए । बाँसगढी नगरपालिकाका वडा नं. २, ३, ४, ५, ६ का र बढैयाताल गाउँपालिका वडा नं. ४ र ५ का विपन्न परिवारले पनि शिविरबाट स्वास्थ्य सुविधा पाएका थिए ।
ल्याब टेष्ट एसओएस स्वास्थ्य केन्द्रले निःशुल्क उपलब्ध गराएको शिविरमा ३५ हजार बराबरको औषधी निःशुल्क वितरण गरिएको थियो । शिविरको औषधी खर्चमा केहि रकम लायन्स क्लब अफ नेपालगन्जले व्यहोरेको थियो भने अन्य सबै खर्च एसओएस स्वास्थ्य केन्द्रले गरेको एसओएस स्वास्थ्य केन्द्र तथा परिवार सवलीकरण कार्यक्रम तथा शिविरका संयोजक शिवकुमार चौधरीले जानकारी दिए । एसओएस युवालय नेपालगन्जका प्रमुख तुलाराम विश्वासले सन् २०२१ भित्र सहयोगी संस्थाहरुसँगको सहकार्यमा १० वटा निःशुल्क शिविर सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।