विरोध प्रदर्शनबीच नौबस्ता औद्योगिक क्षेत्रको शिलन्यास (फोटो फिचर)

नौबस्ता (बाँके) : सरकारले नौबस्ता औद्योगिक क्षेत्रको निर्माण सुरु गरेको छ ।
स्थानीयको विरोध प्रदर्शन गरे पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले मंगलबार दिउँसो भूमि पूजा गरेर नौबस्ता औद्योगिक क्षेत्रको शिलन्यास गरेका हुन् । मन्त्री भट्टले सरकारको मेचीदेखि पश्चिमको महाकालीसम्म औद्योगिक क्षेत्र विकास गरेर उत्पादन बढाउने लक्ष्य रहेको बताए ।

कार्यक्रममा राज्यमन्त्री विमला विक, लुम्बिनी प्रदेश कृषिमन्त्री आरती पौडेल, प्रदेशसभा सदस्य आइपी खरेल र बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरीलगायतले नौबस्ता औद्योगिक क्षेत्रले पश्चिम क्षेत्रको विकासमा मद्दत मिल्ने बताएका थिए । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले ६ महिनाभित्र भूमिहीनको समस्या समाधान गरिसक्ने, २ वर्षभित्र आधारभूत पूर्वाधार निर्माण गरी ५ वर्षभित्र औद्योगिक क्षेत्र सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए । २०७२ को चैतमा सरकारले घोषणा गरेको नौबस्ता औद्योगिक क्षेत्रको तीन सय ३८ बिघा क्षेत्रफल छ । कार्यक्रमस्थलमा मन्त्री भट्ट आउनु अघि नै प्रदर्शनकारी पुगेका थिए । कार्यक्रमस्थल नजिकै नेपाल प्रहरी र सशस्त्र प्रहरीले घेरा हालेर प्रर्दशनकारीलाई कार्यक्रमस्थलमा आउन रोकेका थिए ।