बेरोजगार युवालाई कृषिबाट आत्मनिर्भर बनाइँदै

मुरली गोडिया । गुलरिया
बर्दियाको दलित महिला उत्थान केन्द्रले जिल्लाका ३ जटा नगरपालिकाका बेरोजगार युवालाई कृषिबाट आत्मनिर्भर बनाउन सहयोग गरेको छ ।
लुथरन वर्ल्ड रिलिफको आर्थिक सहयोगमा केन्द्रले गुलरिया, मधुवन र राजापुर नगरपालिका क्षेत्रमा आर्थिक सशक्तिकरणका लागि सीप तथा उद्यमशीलता विकास परियोजनामार्फत कृषिमा युवा लक्षित कार्यक्रमबाट ४ सय ५० जना विपन्न तथा बेरोजगार युवालाई आत्मनिर्भर बनाउन लागेको हो । संस्थाले व्यवसायिक रुपमा प्याज खेती, बेसार खेती र चैते धान एवं बर्खे धान खेती पनि गर्न लागिएको दलित महिला उत्थान केन्द्र बर्दियाकी कार्यक्रम संयोजक विष्णु नेपालीले बताइन् ।
गुलरियाका १ सय २६ जनाले र मधुवनका २४ जनाका लागि ७ सय ३२ कट्ठामा प्याज खेती गरेका छन् । मधुवन नगरपालिकामा १ सय ५० जनाका लागि ७ सय ५० कट्ठामा बेसार खेती गर्ने योजना बनाएको छ । त्यसैगरी राजापुरमा १ सय ५० जनालाई समेट्ने गरि १ हजार १ सय ८८ कट्ठामा चैते धान खेती गर्न लागिएको संस्थाकी परियोजना संयोजक नेपालीले जानकारी दिइन । व्यवसायिक खेतीमा बिउ, प्रविधिक तालिम सहयोग गर्छ ।